काठमाडौं । कोरोनाले भन्दा पनि सरकारको उपेक्षाले धेरैको ज्यान जान थालेको छ । झाडापखाला लागेका धनुषाका राजु सदाको मृत्यु भएको अर्को दिन बैतडीका मिर्गौला बिरामीको मृत्यु भएको छ । उनलाई कोरोना थिएन, तर कोरोनाको रिपोर्ट नभएकोले तीन दिनसम्म डायलाइसिस नभएकोले मृत्यु भएको हो ।
हातखुट्टा सुन्निने, खान मन नलाग्ने र बान्ता आउने समस्या भएपछि बैतडीको मेलौलीका ४७ वर्षीय रामी धानुकलाई ७ असारमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियोे । रगत परीक्षणपछि चिकित्सकले मिर्गौलामा जटिल समस्या देखिएकाले तत्काल डायलाइसिस गर्न सल्लाह दिए । तर, अस्पतालमै रहेको बिरङ हेल्थ केयरले सञ्चालन गरिरहेको डायलाइसिस सेन्टरले कोरोना परीक्षणको पिसिआर रिपोर्ट नल्याएसम्म डायलाइसिस गर्न मानेन । धानुकका कुरुवा रहेका भतिजा धनवीरले नमुना संकलन गरिदिन पटकपटक आग्रह गरे । तर, उनको सुनुवाइ भएन ।
डायलाइसिस गर्नुपर्ने गम्भीर बिरामी बेडमा छटपटाइरहे । भर्ना भएको तेस्रो दिन मात्रै अर्थात् ९ असारमा अस्पतालले धानुकको स्वाब संकलन गर्यो । कोरोना परीक्षणको रिपोर्ट नभएका कारण उनले त्यतिन्जेल डाइलाइसिस सेवा पाएनन्, अन्ततः स्वाब संकलन गरिएकै राति रिपोर्ट कुर्दाकुर्दै धानुकको मृत्यु भयो । जब कि १० असारमा पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आयो । यसरी कोरोना संक्रमित नभएका बिरामीलाई कोरोनाको बहानामा मृत्युवरण गर्न बाध्य बनाइयो ।
विपन्नको पीडामाथि भएको सरकारी झमेलाले अनाहकमा ज्यान गएको पीडित परिवारको गुनासो छ । ‘समयमै डायलाइसिस गराउन पाएको भए ज्यान बच्थ्यो,’ मृतकका भतिजा धनवीर धानुकले भने, ‘पिसिआर रिपोर्ट नभएसम्म डायलाइसिस नगर्ने भनियो, पिसिआर रिपोर्ट कुर्दा ज्यान गयो ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।









