उदयपुर/उदयपुरमा सम्पन्न ‘चौदण्डीगढी नारदमुनि गोल्डकप प्रतियोगिता ०७५’ को उपाधि डिसिटी सुनसरीले चुमेको छ । चौदण्डीगढी नगरपालिकाको बसाहा बर्खेडाँडास्थित नारदमुनि रंगशालामा मंगलबार सम्पन्न फाईनल खेलमा डिसिटीले ४–० गोल अन्तरले बारा ११ युथ क्लव बारालाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।
डिसिटीका अफ्रिकन खेलाडी आयो ओलाले २ गोल र निशान लिम्बु तथा सन्तोष तामाङले १÷१ गोल गरेर टोलीलाई उपाधि दिलाएका हुन् । खेलको म्यान अफ द म्याचको उपाधि पनि अफ्रिकन खेलाडी ओला नै घोषित भए । प्रतियोगिता अवधिभर ३ गोल गर्ने डिसिटीका निशाल लिम्बु सर्वाधिक गोलकर्ता घोषित भए भने डिसिटीकै हेम तामाङले प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि पाए ।
गोल्डकप प्रतियोगिताको विजेता डिसिटी टिमलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य विमल कार्कीले पुरस्कारस्वरुप नगद ३ लाख रुपैंया, ५ किलो चाँदीजडित ट्रफि र प्रमाणपत्र प्रदान गरे । त्यस्तै उपविजेता बारा ११ युथ क्लवलाई चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले १ लाख ५० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरे ।
मंगलबारको म्यान अफ द म्याच घोषित ओला, उत्कृष्ट खेलाडी तामाङ र सर्वा्धिक गोलकर्ता लिम्बुलाई चौदण्डीगढी नगरपालिका ३ का वडाध्यक्ष चरणकुमार राईले जनही ५ हजार नगद, ट्रफि र प्रमाणपत्र पुरस्कार प्रदान गरे। प्रतियोगिता आयोजना गर्न ५ लाख नगद सहयोग गर्ने चौदण्डीगढी नगरपालिकाका मेयर राईलाई आयोजकको तर्फबाट प्रदेश सांसद कार्कीले मायाको चिनो पनि प्रदान गरेका थिए ।
त्यसैगरी स्थानीय नेपाली कांग्रेसका नेता हाईदिपकेशर राईले आधादर्जन रेफ्रीलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरेका थिए। खेलको मध्यान्तरमा स्थानीय कलाकार समूहले किराती भेषमा गीत तथा नृत्य प्रस्तुत गरेर खेलाडी तथा अतिथिहरुलाई मनोरञ्जन दिलाएका थिए ।
असोज २४ गतेदेखि सुरु गोल्डकपको सातौं संस्करणमा २ विभागीयसहित ८ वटा समूहको सहभागिता रहेको आयोजक बसाहा क्लवका अध्यक्ष शेखर राईले बताए । उनका अनुसार ००७ सालका क्रान्ति योद्धा तथा पूर्वमन्त्री स्व. नारदमुनि थुलुङ राईको स्मृतिमा क्लवले वर्षेनी गोल्डकप प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया