उदयपुर । लामो समयको लकडाउनका कारण हरेक क्षेत्र प्रभावित भइरहेका बेला सर्तसहित खुकुलो पारिएको लकडाउन उदयपुरमा धेरैले पालना नगरेको पाइएको छ । यसले गर्दा संक्रमणको खतरा पनि बढेको छ ।
लामो लकडाउनका कारण जनजीवन अस्तव्यस्त बनेको, रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको भन्दै लकडाउनको अवज्ञा गर्न थालेपछि चैत ११ गतेदेखिको लकडाउन असार १ गतेदेखि खुकुलो बनाइएको थियो ।
लकडाउन खुकुलो बनाइएपछि उदयपुरको गाईघाट बजार, बेल्टार, रामपुर, कटारी, मुर्कुची लगायतका क्षेत्र लगायत ठाउँमा मानिसको चहलपहल ह्वात्तै बढेको छ । दिन प्रतिदिन संक्रमितको संख्या बढिरहेको छ तर कतिपय क्षेत्रमा संक्रमणको जोखिम सकिएझैं मास्क नलगाई, शारीरिक दूरी कायम नगरी हिँडिरहेको देखिन्छ ।
सोमबार मात्रै राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौं गाईघाट घर भएकी अन्दाजी ५३ वर्षिय महिलामा कोरोना संक्रमणको पुष्टी गरेको छ । उनलाई प्रेसरले ब्रेनमा हानेपछि उपचारको क्रममा कोरोना संक्रमण पुष्टी भएको हो । उनी गाईघाटमै संक्रमित भएकी वा उपचारको क्रममा संक्रमित भएकी अनुसन्धानको विषय रहेको छ । संक्रमित बस्ने एरिया अहिले सिल गरिएको छ ।

कोरोना संक्रमित महिला बस्ने गाईघाटको सिद्धान्त टोल सिल । तस्विर : नागरिक बहस

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार संक्रमण सकिएझैं सामान्य स्वास्थ्य सतर्कता नअपनाई व्यवहार गर्नु जोखिमपूर्ण हुने बताउँछन् । व्यवसायी भने नजिक नआउन भने पनि ग्राहकले भीड बढाएको र मास्क लगाउने बानी नहुँदा गुम्सिएर श्वास फेर्न गाह्रो हुने भएकाले मास्क नलगाएको बताउँछन् ।
कोरोना भाइरस संक्रमणबाट जोगिन स्वास्थ्य सतर्कता अपनाउँदै आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने आमसर्वसाधारण र व्यवसायीहरूको माग छ । तर, व्यवसायीहरुले नै सुरक्षा सामग्रीमा ध्यान नदिँदा कोरोनाको संक्रमण समुदायमा फैलिन सक्ने सर्वसाधारणको गुनासो रहेको छ । एक जना उपभोक्ता संक्रमित छ भने त्यसले त्यति प्रभाव पार्दैन । तर, एक जना व्यवसायी संक्रमित भयो भने सयौं उपभोक्तालाई संक्रमित बनाउन सक्ने जोखिम रहेको त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अवधनारायण चौधरी बताउँछन् ।
लकडाउनको मोडालिटी चेन्ज भएपनि लकडाउन हटाईएको छैन् । जिल्लाका अधिकांश ठाउँहरुमा उलंघन गर्दै अहिले होटल, लज तथा सैलुन र व्युटी पार्लर जस्ता व्यवसायहरु पनि खुलेका छन् । भिडभाड बढ्दै गएको छ ।
गाईघाट बजारमा अधिकांश युवायुवतीहरु विना कामले गाईघाट बजार हुल बाँधेर डुलेको देखिन्छ । उनीहरुको मुखमा माक्स समेत देखिँदैन् । उनीहरु समूह भएर गफिएको दृश्य प्रत्यक्ष देख्न सकिन्छ ।
यस्तै नेपाल विद्युत प्राधिकरणमा विद्युतको महशुल बुझाउने पनि लाइन कम छैन् । भने बैंक तथा वित्तिय संस्थाहरु पनि त्यतिकै भिडभाड छ । सडक पेटी मै पसल राख्नेहरुको तछाड मछाड छ । कसैले पनि सामाजिक दुरी कायम गरेको देखिदैन् ।
गाईघाटकी एक महिलामा कोरोना पुष्टी भएपछि त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले सूचना जारी गर्दै व्यवसायीहरुलाई आफ्नो पसलको अगाडी आउने तथा सामान खरिद गर्न आउने उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बर टिपेर राख्न अनुरोध गरेको छ । त्यो कतिको लागू हुने हेर्न बाँकी रहेको छ ।
यस्तै त्यतिकै मात्रामा सडकमा मोटर साइकल, अटो रिक्सा, निजी सवारी साधन गुडेको पाइन्छ । कसैले पनि स्वास्थ्य मापदण्डको अधिनमा रहेर चलेको देखिदैन् ।
नागरिकहरुको जनजीवनलाई केही सहज बनाउन होटेल, लज, रेस्टुरेन्ट, पार्टी प्यालेस, पार्लर, सैलुन बाहेकका खाद्य तथा दैनिक उपभोग्यबस्तु, जुत्ता चप्पल, कपडा पसल, हार्डवेयरका पसल खोल्न प्रमुख जिल्ला अधिकारी दिपक पहाडी र त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट विच सहमति भएको थियो ।
सम्झौता अनुसार सामाजिक दुरी कायम गरी तथा स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गरेर पसल संचालन गर्ने भनिएपनि सो अनुसार अपवादमा २ प्रतिशत व्यवसायी बाहेक कसैले पनि स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गरेको देखिदैन् ।
व्यापारीलाई समय पालना गराउने र उपभोक्ताहरुलाई सामाजिक दुरी, मास्क, सेनिटाइजर प्रयोग जस्ता कुराको व्यवस्थापन त्रियुगा उद्योग वाणिज्य संघले गर्ने र लकडाउनको पालना भए नभएको, बजारमा कोरोनाप्रतिको सतर्कता अपनाए, नअपनाएको बारेमा नागरिक समाज, जनप्रतिनिधि र प्रशासनले अनुगमन गर्ने भनिए पनि अहिले कसैको चासो गएको देखिदैन । नाम मात्रको अनुगमन निकाय बनेको छ । कुनै अनुगमन नै भएको देखिदैन् । तर, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय लगायतले नियमित अनुगमन गरेको बताउँछन् ।

तपाईको प्रतिक्रिया