उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारकी एक महिलामा कोरोना संक्रमण देखिएको छ । सोमबार त्रियुगा नगरपालिका ११ गाईघाट बजारकी अन्दाजी ५३ वर्षिय महिलालाई टेकु काठमाडौंले कोरोना संक्रमण भएको पुष्टी गरेको हो ।
गत जेष्ठ ३० गते प्रेसरले हानेपछि गाईघाटमा सामान्य उपचारपछि थप उपचारको लागि न्यूरो हस्पिटल विराटनगर रेफर गरिएको थियो । न्यूरोले भर्ना लिनु अगाडी र्यापिट डाग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा कोरोना नेगेटिभ देखिएको थियो । उनको तीन दिन न्यूरो हस्पिटलमा उपचार गरेपनि ब्रेनमा प्रेसरले हानेपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको थियो ।
काठमाडौं स्थित न्यूरो बाँसबारीमा उपचारको क्रममा उनलाई पिसिआर गर्दा कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । संक्रमित महिलाको अहिले टिचिङ महाराजगंजमा उपचार भईरहेका छन् ।
यस्तै गाईघाटको पुरानो पेट्रोल पम्प (एसके पेट्रोलपम्प) छेउमा रहेको संक्रमितको घर र घरदेखि १ सय ५० मिटर आसपासको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सिल गरेको हो । थप सर्तकताका लागि सिल गरिएको क्षेत्रलाई सुरक्षा घेराभित्र राखिने जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालले बताए । सुरक्षा भित्रको क्षेत्रमा कसैलाई प्रवेश गर्न र भित्रकालाई बाहिर निस्कन दिइदैन ।
परिवारिक स्रोतका अनुसार संक्रमित महिलाकी छोरा र विराटनगरकी कुरुवा महिला, न्यूरो हस्पिटल विराटनगरका स्वास्थ्यकर्मी, विराटनगरबाट काठमाडौं गएको एम्बुलेन्स चालक र न्यूरो बाँसबारीका स्वास्थ्यकर्मीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
स्थानीयहरुका अनुसार संक्रमित महिला गाईघाट बजारमा तरकारी लिन गएकी, विजुलीको विल तिर्न गएकी, जन्म दिनको पाटी लगायत अन्य ठाउँहरुमा पनि गएको खुलेको छ ।
ति महिलामा कोरोना पुष्टि भएको खबरले जिल्लाको अन्य समुदायमा पनि कोरोना फैलिसकेको होकी भन्ने आशंका पैदा गरेको छ । यद्यपी उनको कन्ट्राक ट्रेसिङ गरेर परिक्षण गरेपछि त्यसको रिपोर्टबाट अवस्था थाहा हुने सरकारी अधिकारीहरुको भनाई छ ।
ती महिला गाईघाटमै संक्रमित भएको हो वा उपचारको क्रममा जाँदा बाहिरतिर संक्रमण भएको हो भन्ने स्पष्ट भइनसकेको अवस्था छ । संक्रमितको घर र आसपासको क्षेत्र सिल गरिसकिएकोले सर्बसाधारणहरु अत्तालिनु जरुरी नरहेको सुरक्षा अधिकारीहरुको भनाई छ । तर, सचेत र सतर्कता अपनाउन भने जरुरी रहेको उनीहरुको भनाई छ ।
उदयपुरमा अहिलेसम्म ५२ जनामा कोरोना संक्रमण पुष्टी भईसकेको छ । जसमा त्रियुगा नगरपालिकामा ३९ जना, बेलका नगरपालिकामा ५ जना, कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा २–२ जना, ताप्ली गाउँपालिका र चौदण्डीगढी नगरपालिकामा १–१ जनामा कोरोना पुष्टी भईसकेको छ भने ३५ जना कोरोनामुक्त पछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पछिल्लो समय लकडाउन खुकुलोको नाममा गाईघाट सामान्य अवस्थामा देखिएको छ । मानिसहरुको चहलपहल र भिडभाड अति बढि हुने गरेको छ । विद्युत कार्यालय, बैंकहरु, पसलहरुमा मानिसहरुले लापरवाहीपूर्ण ढंगले व्यवहार देखाइरहेको देखिएको छ । यसले कोरोनाको जोखिम बढेर गएको छ । त्यसप्रति सर्बसाधारण नागरिकहरु सचेत हुनुपर्ने देखिन्छ ।









