ओखलढुंगा । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–६ देउरालीमा ट्याक्टर दुर्घटनमा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
सोलु करिडोर ३३ केभिए प्रसारण लाइनको तार टाँगेर फर्कदै गरेको नम्बर नखुलेको ट्याक्टर मंगलबार बिहान दुर्घटना हुदाँ चालक भारत पश्चिम बंगालका अन्दाजी २७ वर्षीय सञ्जय बरमनको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका सञ्जयको उपचारका क्रममा मंगलबार विहान ११ बजे ओखलढुंगा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।
सिद्धिचरण राजमार्ग अन्तर्गत मानेभज्याङ गाउँपालिकाबाट थाक्लेतर्फ जार्दै गरेको ट्याक्टर अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । ट्याक्टरमा पछाडीको भाग ढाला नभएकाले चालकमात्र सवार थिए ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहको र ट्याक्टरको कागजपत्र झिकाउने काम भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।









