राजेन्द्र महतो, लहान । कोरोनाको संक्रमण बढेसगैँ क्वारेन्टाइन व्यवस्थापन गर्दै आएका सिरहा नगरपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीसहित २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । जिल्लाको सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कर्मचारी, स्वास्थ्यकर्मीसहित २३ जनामा कोरोना पुष्टि भएको हो।
पिसिआर परीक्षणको सोमबार आएको रिपोर्टमा पाँचजना कर्मचारी र स्वास्थ्यकर्मीसहित कोरोना संक्रमित रहेका छन् ।
संक्रमितहरू सिरहाको सिरहा नगरपालिका का १३ देखि ८० वर्ष उमेर समूहका चारजना महिला र १९ जना पुरुष कोरोना संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।
उनीहरूको ४ असारमा स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला काठमाडौं टेकु पठाएको थियो ।सङ्क्रमणको पुष्टि भएलगत्तै उनीहरू लाई सिरहा जिल्ला अस्पतालमा आइसोलेसनमा राखिएको छ । यसअघि आइतबार पनि सिरहामा ५२ जना नयाँ संक्रमित थपिएका थिए ।
यसैसँगै सिरहामा कोरोना भाइरस संक्रमितको कुल संख्या १४६ पुगेको छ । जसमा ४६ जना निको भएर घर फर्किएका छन् भने बाँकी १०० जनाको उपचार भइरहेको छ ।









