उदयपुर ।  उदयपुरमा थप पाँच जनामा कोरोना संक्रमत देखिएको छ । जिल्ला स्वास्थ्य उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार त्रियुगा नगरपालिकामा २ जना, उदयपुरगढी, ताप्ली गाउँपालिका र कटारी नगरपालिकामा १–१ जनामा कोरोना संक्रमण देखिएको छ । उदयपुरबाट पछिल्लो चरण स्वाव नमुना संकलन गरी विराटनगरस्थित कोशी अस्पतालमा परिक्षण भएकोमा पाँच जनामा पुष्टि भएको हो । संक्रमितहरुको बारेमा स्वास्थ्य मन्त्रालयले आधिकारिक पुष्टी गर्न बाँकी रहेको छ ।
संक्रमित हुनेमा त्रियुगा नगरपालिका वडा नं. ५ का ३८ वर्षिय महिला र वडा नं. ९ का ४० वर्षिय पुरुष रहेका छन् । महिला भारतको पंजावको गुडगाउँबाट आएका हुन भने पुरुष नयाँ दिल्लीबाट आएका हुन् । उनीहरुलाई नेपाल प्रवेश नाकाबाटै सिधै क्वारेन्टाइनमा राखिएको त्रियुगा नगरपालिकाका स्वास्थ्य प्रमुख अवध नारायण चौधरीले जानकारी दिए ।
कटारी नगरपालिका ५ का १९ वर्षिय युवकमा पनि कोरोना संक्रमण देखिएको छ । उनी पनि दिल्लीबाट १४ दिन अघि आएर नेपाली सेनाको सार्दुल गण बेलस्रोतको क्वारेन्टाइनमा राखिएको थियो ।
अर्का संक्रमित ताप्ली गाउँपालिका ५ का ३५ वर्षिय युवा रहेका छन् । संक्रमित सहित ५ जना दिल्ली नोयडाबाट नेपाल आएका हुन् । उदयपुरगढी गाउँपालिकाका ३ जना र ताप्ली गाउँपालिकाका २ जना आएका थिए । उनीहरु ३ दिन उदयपुरगढी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए भने संक्रमित दुई दिन अघि मात्रै ताप्ली गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा आएको गाउँपालिका अध्यक्ष उद्धव सिंह थापाले जानकारी दिए । उनको स्वाव उदयपुरगढी कै क्वारेन्टाइनमा हुँदा संकलन गरेको थियो । ताप्लीमा पहिलो पटक संक्रमित देखिएको हो ।
यस्तै उदयपुरगढी गाउँपालिकाका ३० वर्षिय युवामा पनि कोरोना संक्रमण देखिएको छ । उदयपुरगढी गाउँपालिकाका संक्रमितको ठेगाना खुलेको छैन् । संक्रमितको पहिचान गर्ने क्रममा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत माधव सुवेदीले जानकारी दिए ।
पछिल्लो चरण संक्रमित थपिसएसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।
हालसम्म त्रियुगा नगरपालिकामा ४१ जना, बेलका नगरपालिकामा ५ जना, कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा २–२ जना र चौदण्डीगढी नगरपालिका र ताप्ली गाउँपालिकामा १–१ जना संक्रमित भएका छन् ।
संक्रमित मध्ये ३५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा त्रियुगा नगरपालिकाबाट ३३ जना, चौदण्डीगढी र बेलका नगरपालिकाबाट १–१ जना डिस्चार्ज भएका छन् ।
अहिलेसम्म लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा कोरोना संक्रमण देखिएको छैन् ।

तपाईको प्रतिक्रिया