उदयपुर । स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टी गरेको कोरोना संक्रमित मध्ये उदयपुरका ४ जना मध्ये एकै परिवारका दिदी भाई नै संक्रमित भएका छन् । संक्रमितहरु त्रियुगा नगरपालिका १० का हुन् ।
दिदी २४ वर्षिय युवती र भाई १९ वर्षिय युवक रहेका छन् । उनीहरु हप्ता दिन अगाडी दिल्ली हुँदै भैरहबा सुनौली नाकाबाट नेपाल प्रवेश गरेका थिए । भैरहवा सुनौलीबाट त्रियुगा नगरपालिकाले उद्धार गरेर लिएर आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अवध नारायण चौधरीले जानकारी दिए ।
यस्तै कटारी नगरपालिका १३ का २६ वर्षिय पुरुष पनि संक्रमित भएका छन् । उनी काकडभिठ्ठा नाकाबाट नेपाल प्रवेश गरेका थिए । उनलाई सोही ठाउँबाट नगरपालिकाले उद्धार गरेर लिएर आएको कटारी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश दाहालले जानकारी दिए ।
यस्तै उदयपुरको पुरोना सदरमुकाम उदयपुरगढी गाउँपालिका ५ का एक २५ वर्षिय युवामा संक्रमण देखिएको छ । उनलाई कोशी अस्पताल विराटनगरको ल्यावले कोरोना संक्रमण भएको पुष्टी गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । संक्रमित युवा १० दिन अघि भारतको दार्जलिङबाट आएर उदयपुरगढी कै क्वारेन्टाइनमा राखिएकोको उदयपुरगढीका प्रमुख प्रशासकिय अधिकृत माधव सुवेदीले जानकारी दिए ।
उदयपुरमा पछिल्लो चरण संक्रमित सवै भारतका विभिन्न ठाउँबाट नगरपालिका र गाउँपालिकाहरुले उद्धार गरेर ल्याएकाहरु हुन् । उनीहरु सवै क्वारेन्टाइनमा बसेका छन् ।
उदयपुरका कोरोना संक्रमितको संख्या ४० पुगेको छ । जसमध्ये ३२ जनाले कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भईसकेका छन् ।

तपाईको प्रतिक्रिया