राजेन्द्र महत्तो, लहान । सिरहाको औरही गाउँपालिका–५ स्थित प्रेमिकाको घर गएका प्रेमी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । स्थानीय युवा करिब १७ वर्षीय अबिरचन यादव झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
आइतबार मध्यरातमा उनी सोही ठाउँका जोगिन्द्र यादवको घर पुगेका थिए । स्थानीयका अनुसार अबिरचन र जोगिन्द्रकी छोरी बीच प्रेम सम्बन्ध थियो । अबिरचन राति करिब १ बजे झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिए ।
किशोरीले आफू अबिरचन झुण्डिएको घरमा नसुतेको प्रहरी समक्ष बताएकी छिन् । ती किशोरीले आफू ट्वाइलेट गएर फर्किने क्रममा घर पस्दा अबिरचन झुण्डिएको देखेपछि हजुरआमा र बुवालाई जानकारी गराएको बताएकी छन् ।
अबिरचनको नाकमा चोटपटक लाग्नुको साथै नाकबाट रगत बगेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिए । मृतक परिवारका आफ्न्तले हत्या गरेर झुण्ड्याएको आरोप लगाएका छन् । मृतक अबिचरनको शव जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले कानुनी प्रक्रिया पुर्याएर पोस्टमार्टमका लागि लहान अस्पताल पठाएको छ । घटनाको विषयमा अनुसन्धान थालिएको एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।









