उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिका ५ जुटपानीमा जंगली जनावर मृग मारेको अभियोगमा दुई जना पक्राउ परेको छ । पक्राउ पर्नेमा स्थानीय जुटपानी बस्ने २८ वर्षीय बिरेन तामाङ र ३६ वर्षीय राज कुमार तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय सगरमाथा सामुदायिक वनमा गई जंगली जनावर मृग मारी घरमा ल्याएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय सुन्दरपुर र सब–डिभिजन वन कार्यालय सुन्दरपुरबाट खटिएको संयुक्त टोलीले मृगको मासु सहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ दुवै जनालाई सव–डिभिजन वन कार्यालय सुन्दरपुरमा राखी थप अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय उदयपुरका सहायक डिभिजन वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले जानकारी दिए । पक्राउ परेकालाई वन ऐन अन्तर्गत कानूनी कारबाही गरिने उनले बताए ।









