सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक कोरोना संक्रमित फेला परेको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपलिका ८ निवासी २८ वर्षीय युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
स्वाब परीक्षण गर्न काठमाडौं पठाइएकोमा युवकमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले बताईन।
उनका अनुसार संक्रमित युवकको ट्राभल हिस्ट्री देखिएको छैन। युवक लकडाउन अघि देखि नै गाउँमै बसिरहेको पाइएको छ। संक्रमण पुष्टि भएपछि युवकलाई कोशी अस्पताल विराटनगर पठाइएको छ।
गत जेठ ८ गते उनलाई ज्वरो र सास फेर्न गाह्रो भएपछि जिल्ला अस्पताल फाप्लु पठाइएको थियो। त्यसपछि अस्पतालले कोरोनाको शंका लागेर स्वाब परीक्षणको लागि काठमाडौं पठाएको थियो।
प्रजिअ आचार्यले संक्रमित युवक छारे रोगी पनि रहेको बताए। योसँगै सोलुखुम्बुमा पनि पहिलोपटक कोरोना संक्रमण देखिएको छ।
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ।









