राजविराज । सप्तरीमा बुधबार थप दुई जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । बोदे बर्साइन नगरपालिका र बिष्णुपुर गाउँपालिकाका पुरुष रहेका छन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा बोदे बर्साइनका ४७ वर्षीय र बिष्णुपुरका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले संक्रमित देखिएका दुबै जना सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा रहेको जानकारी दिए ।
योसँगै सप्तरीमा संक्रमितको संख्या १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको सप्तरीमा ११ जना संक्रमितमा एक प्रहरी रहेको खुलेको छ । इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत २९ वर्षीय असई सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता मावि कुशहाको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका थिए । भारत तथा बाहिरबाट आएर सप्तरीको क्वारेन्टाइनहरुमा बसेकादेखि बाहेक पहिलो पटक प्रहरीमा संक्रमण देखिएको यादवले बताए ।

तपाईको प्रतिक्रिया