काठमाडौं । बुधबारसम्म कोरोनाभाइरसको संक्रमण देशका ४७ जिल्लामा देखिएको छ।
बुधबार रुकुम पूर्वमा समेत कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमण ४७ जिल्लामा पुगेको हो । हालसम्म सबैभन्दा बढी संक्रमित बाँकेमा १७० जना रहेका छन् भने त्यसपछि कपिलवस्तुमा १०९ जना र रौतहटमा १०७ जना रहेका छन् ।
बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ८८६ जना पुगेको छ।
यस्तै १८३ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका गरी ४ जनाको मृत्यु भएको छ ।
यसैबीच हालसम्म पीसीआर विधिबाट ५८ हजार २ सय ७७ र आरडिटी विधिबाट १ लाख २ सय ८७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ५ सय ८० र आरडिटी विधिबाट २ हजार ३ सय २० जनाको नमुना परीक्षण भएको छ ।
विवरण हेर्नुहोस्











