उदयपुर । कोरोनाको महामारीबाट विश्वको अधिकांश देशहरु लकडाउनमा छन् । लकडाउनले भारत पनि अछुतो हुन सकेको छैन् । भारतको केही दिनदेखि रेल सेवा संचालन गरेपछि नेपालीहरु घर फर्किनेको ओइरो लागेको छ ।
त्रियुगा नगरपालिका १२ विसनपुरका १६ जना र चौदण्डीगढी नगरपालिका १० का दुई गरी १८ जना पंजाबको जलन्धर नकोदरमा काम गर्नेहरु बसमार्फत कपिलवस्तुको कृष्णनगरको बोर्डरमा तीन दिनदेखि आएर अलपत्र परेका छन् । लकडाउनका कारण कपिलवस्तको कृष्णनगर बोर्डरमा अलपत्र उदयपुरबासीलाई लिन त्रियुगा नगरपालिकाले बस पठाएको छ । चौदण्डीगढी नगरपालिका १० का आशाराम चौधरीका अनुसार पंजाबबाट बसमार्फत कृष्णनगर आएको तीन भईसकेको उनले फोन सम्पर्कमा नागरिक बहस अनलाइनलाई जानकारी दिए । ‘एक हजार भाडा लाग्ने ठाउँमा चार–चार हजार भारुको दरले भाडा तिरेर कृष्णनगरसम्म आईपुगको छौं, पैसा सकियो ।’ उनले भने, ‘हामी करिव साढे चार महिना अघि मात्रै पंजाव गएका थियौं, मुस्किलले २०–२२ दिन काम गरेका थियौं । भारतमा पनि एक्कासी लकडाउन भएपछि हाम्रो काम बन्द भयो र फस्यौं ।’ १७ जना मुसहर समुदायका युवाहरु छन भने एक जना मात्रै थारु छन् ।
त्रियुगा नगरपालिकाले गाडीको व्यवस्था गरिदिन्छु भनेको छ अहिलेसम्म आई नपुगेको उनले दुखेसो गरेको छ । अन्य जिल्लाको गाउँपालिका र नगरपालिकाले आफ्नो मानिसहरुलाई धमाधम लगिरहेको छ भने हाम्रो जिल्लाको कसैले केही नगरेको उनले गुनासो गरे । नगरपालिकाले गाडी पठाउन सक्दैन भने हामी हिडेर भएपनि जहाँसम्म जान सक्छौं त्यहाँसम्म जान तयार रहेको उनले बताए । पहिलो दिन भोकै बसेपनि दोस्रो दिनदेखि समितिमार्फत खाना खुवाउने काम भईरहेको उनले बताए । उनले भने, ‘कृष्णनगरका बासीहरुको दिशा गर्ने खाली चौरमा बास छ, मछरले टोकेर रातभरी निदाउन पाएको छैन् ।’
अलपत्र परेकाहरुलाई क्वारेन्टाइनमा बस्ने सर्तमा उद्धारको लागि बस पठाएको नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए । उनका अनुसार सोमबार विहानमात्रै बस पठाएका छौं, सोमबार साँझसम्म कपिलवस्तु कृष्णनगर पुग्ने छ र भोली दिउँसोसम्म गाईघाट आईपुग्ने बताए ।
यस्तै यस अघि भारतको दिल्लीबाट आएका दुई जनालाई सिरहाको माडरबाट लिएर त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा राखिएको छ भने भारतबाटै एक जना विरगंज हुँदै गाईघाट आउँदैछ ।

तपाईको प्रतिक्रिया