काठमाडौं । पूर्व संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रले आफ्नो ज्यान खतरामा रहेको भन्दै सुरक्षा माग गरेका छन् । मिश्रले पछिल्लो केही दिनयता शंकास्पद गतिविधि भइरहेको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सुरक्षा माग गरेका हुन् ।
उनले दिएको उजुरीमा बैशाख ३० गते मध्यान्ह १२ बजे चार जना अपरिचित व्यक्तिहरु मोटर साइकलमा आएर आफू बस्ने टोखा नगरपालिका वडा न. ११ स्थित घरको फोटो खिचेर लगेको र चार मध्ये दुई जना भारतीय नागरिक समेत रहेको खुलाएका छन् । फोटो खिचेको बारेमा ढल निर्माण गरिरहेका भाईहरले किन फोटो खिचेको भनेर सोधेपछि उनीहरुले विजय प्रकाश मिश्रको घर यही होइन भनेर उल्टै कामदार भाइहरुलाई सोधेका उल्लेख छ ।
त्यस्तै, मिश्रले गोकुल बास्कोटाले आफूलाई विभिन्न किसिमका प्रलोभन र दवाव दिइ रहेको समेत निवेदनमा खुलाएका छन् । फोटो खिचेर रेकी गर्ने काम बास्कोटाकै योजनामा मार्ने योजना भएको निवेदनमा उल्लेख गरेका छन् ।
त्यस्तै, उजुरीमा सार्वजनिक लेखा समितिका सदस्यहरु सूर्य पाठक र प्रेम बहादुर आलेको नाममा पनि जोडेका छन् ।
मिश्रले उजुरीको बोधार्थ राष्ट्रिय मानवअधिकार आयोग, महानगरिय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी तथा प्रहरी वृत महाराजगञ्जमा पनि पठाएका छन् ।

तपाईको प्रतिक्रिया