खोटाङ । प्रदेश नं. १ मा फेरी एक युवकमा कोरोना संक्रमित देखिएको छ । खोटाङमा पहिलो पटक हलेसी तुवाचुङ नगरपालिका ७ निवासी २० वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको हो ।
उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको मेयर इवन राईले बताए । युवकलाई मंगलबार बिहान विराटनगरको कोशी अस्पताल लैजाने नगरपालिकाको तयारी छ ।
युवक गत वैशाख १२ गते काठमाडौंबाट खोटाङ पुगेका थिए । नगरपालिकाले काठमाडौंमा अलपत्र परेकाहरूलाई उद्दार गर्दा सोही टोलीमा उनी पनि खोटाङ पुगेका थिए ।
मेयर राईका अनुसार उनी काठमाडौंमा फाइनान्समा पैसा उठाउने काम गर्थे । उनीबारे थप विवरण लिने काम भइरहेको छ ।
काठमाडौंबाट हलेसी पुगेर उनी होम क्वारेन्टाइनमा बसेका थिए । उनको पिसिआर परीक्षणका लागि गत वैशाख २ गते स्वाब धरान पठाइएको थियो ।
योसँगै नेपालमा संक्रमितको संख्या ३ सय ५९ पुगेको छ । सोमबार मात्रै ६३ जना मध्ये बाँकेका ४७ जनामा संक्रमण देखिएको हो । अहिलेसम्म कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ भने ३७ जना निको भएका छन् ।

पोजिटिभ देखिएका युवाको घर सिल
कोरोना संक्रमित युवाको पिसिआर रिपोर्ट पोजिटिभ देखिएपछि हलेसी तुवाचुङ नगरपालिकाले उनको घर सिल गरेको छ । घर सिल गर्नका लागि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधि पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख राईले बताए ।
नगरपालिकाको सोमबार साँझ बसेको आकस्मिक बैठकले नगरपालिकाको सबै नाका बन्द गर्ने, संक्रमित युवाको पुःन पिसिआर टेष्ट गर्ने र उपचारमा पठाउने, उनका परिवारको पनि पिसिआर टेष्ट गर्ने, नगरपालिकाको सरकारी कार्यालय तथा बैंकिङ कारोबार बन्द गर्ने लगायतका निर्णय गरिएको प्रमुख राईले बताए ।

तपाईको प्रतिक्रिया