उदयपुर । कोरोना संक्रमण इपिसेन्टर बनेको त्रियुगा नगरपालिका ३ भुल्केका स्थानीयलाई रिड नेपालले राहत वितरण गरेको छ । गाउँ नै सिल गरिएपछि भुल्केमा दैनिक उपभोग्य बस्तुको अभाव, संक्रमणको डरले मुस्लिम समुदायको पैसा चल्न छोड्यो, कोरोना संक्रमित क्षेत्रको कहर लगायत शिर्षकका समाचार नागरिक बहस अनलाइनमा सम्प्रेषण भएपछि सो क्षेत्रका स्थानीयबासीलाई विभिन्न संघ संस्था तथा प्रदेश सरकारले पनि राहत सहयोग गरेको छ । 
कोरोना संक्रमित क्षेत्र बैशाख ५ गतेदेखि नै सिल गरिएको छ । गाउँ नै सिल गरिएपछि दैनिक उपभोग्य बस्तुको अभाव भएपछि रिड नेपालको सहयोगमा संगम सामुदायिक पुस्तकालय गाईघाटको आयोजना र त्रियुगा नगरपालिका ३ मोतिगडाको समन्वयमा राहत वितरण गरेको वडाध्यक्ष अवधेशप्रसाद चौधरीले जानकारी दिए ।
प्रत्येक घरलाई गहूँको पिठो ५ केजी (१ प्याकेट), चना १ केजी, मटर १ केजी, चिनी १ केजी, तेल १ पोका, नुन १ केजी, चियापत्ती २० ग्राम (१ पोका), हातधुने सावुन ३ वटा र नुहाउने सावुन १ वटा वितरण गरेको संगम सामुदायिक पुस्तकालयको अध्यक्ष भरत खड्काले बताए । उनका अनुसार ३ सय १५ घर परिवारलाई उक्त राहत वितरण गरेको बताए ।
लकडाउने निम्तिएको खाद्य संकटबाट बचाउनको निम्ति प्रति परिवार एक हजार ६० रुपैया बराबरको राहत सामग्री वितरण गरेको अध्यक्ष खड्काले बताए । उनका अनुसार रिड नेपालको सहयोगमा ३ लाख ३३ हजार ९ सय रुपैयाँको राहत वितरण गरेको उनले बताए ।
भुल्केका स्थानीयको अधिकांशको पेशा ज्याला मजदुरी, कृषि पेशा रहेको अवस्थामा लकडाउन र गाउँ नै सिल भएपछि दैनिक उपभोग्य बस्तुको अभाव सृजना हुँदै गएको थियो । गाउँ नै सिल गरेपछि छरछिमेक तथा नातागोतामा समेत कोरोना संक्रमण फैलिने डरले एैचो पैचो माग्ने अवस्था नभएपछि स्थानीयबासी मारमा परेका थिए ।
कोरोना प्रभाबित क्षेत्रका १५ घर थारु समुदाय, ५६ घर मुस्लिम समुदाय र ३ सय ५० घर पहाडे समुदाय गरि ४ सय २१ घर परिवार रहेको भुल्केलाई अहिले सिल गरेको छ । कोरोना संक्रमित क्षेत्र भुल्के गाउँको २५ मिटरको दुरीमा पश्चिम दक्षिणमा नेपाली सेनाको १८ नं. बाहिनी अड्डा पनि रहेको छ ।
अहिले उक्त क्षेत्रमा ३२ संक्रमित र गाईघाटमा एक संक्रमित गरी ३३ संक्रमित उदयपुरमा फेला परेका छन् भने १५ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।









