उदयपुर । कोरोना संक्रमणको हट स्पट बनेको उदयपुरमा एक पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा उच्च सर्तकता बढाइएको छ । त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ती व्यक्तिमा संक्रमण देखिएको हो । उनको विराटनगर स्थित कोशी कोरोना विशेष अस्पतालमा उपचार भईरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
उनका अनुसार बैशाख ३१ गते २७ जना पत्रकारले पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । टेलिभिजनमा रिपोर्टिङ गर्ने उनी भुल्केमा कोरोना सक्रमण देखिएयता नियमित रुपमा समाचार संकलन गरिरहेकाको क्रममा संक्रमित भएका हुन् ।
कन्ट्राक्ट ट्रेसिङको आधारमा सँगै काम गर्ने एउटै घरमा डेरा गरी सँगै एउटै भान्सामा खान पिन गर्ने अर्का पत्रकार विजय कार्कीमा कोरोना रिपोर्ट नेगेटिभ आएको छ । तथापी उनलाई अझै केही दिन होम क्वारेन्टाइनमा बस्न स्वास्थ्यकर्मीले आग्रह गरेको छ ।
यस्तै केही समयदेखि प्रायः दिनहुँ जसो दुई तीन घण्टासँगै बस्ने, काम गर्ने अर्का पत्रकार होम बस्नेतको रिपोर्ट पनि नेगेटिभ आएको छ।
संक्रमित पत्रकारसँग सम्पर्कमा रहेका अन्य पत्रकारलाई पनि होम क्वारेन्टाइनमा र सेल्फ क्वारेन्टाइनमा आग्रह गरिएको नेपाल पत्रकार महासंघ उदयपुरका सचिव प्रशुराम थापाले जानकारी दिए ।
पत्रकारसँगै सम्पर्कमा रहेका नेकपा जिल्ला अध्यक्ष विनोद कटुवाल (दिवस) कटारी अस्पतालको आइसोलेशनमा छन भने अन्य सोही डेरामा बस्ने दुई जना जिल्ला अस्पताल उदयपुरको आइसोलेशन कक्षमा छन् । संक्रमितसँग सम्पर्क प्रत्यक्ष सम्पर्कमा रहेका अन्यलाई पनि होम क्वारेन्टाइनमा रहन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी विरबहादुर बुढामगरले बताए ।
उदयपुरमा संक्रमितको संख्या ३३ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या १५ रहेको छ ।
हालसम्म चार पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगंज, पर्सामा दुई र जनकपुरका अर्का एक पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ ।









