उदयपुर ।  उदयपुरका नेकपा अध्यक्ष विनोद कटुवाल आइतबार बिहानदेखि कटारी अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । कोरोना संक्रमित पत्रकारको सम्पर्कमा रहेका अध्यक्ष कटुवाल आफै अस्पतालको आइसोलेसनमा गएका हुन् ।
अध्यक्ष कटुवाल शुक्रबार कोरोना पुष्टि भएका २५ वर्षीय पत्रकारसँग सम्पर्कमा थिए । संक्रमित पत्रकार र अध्यक्ष कटुवाल सदरमुकाम गाईघाटमा एउटै घरमा बस्दै आएका थिए । अध्यक्ष कटुवाल र पत्रकारले भान्सासमेत एउटै प्रयोग गरेका थिए ।
‘कोरोना संक्रमित पत्रकार भाइसँग सम्पर्कसँग पछिल्लो चरण जिल्ला समन्वय समितिको बैठकमा आउँदा दुई दिन भेट भएको थियो ।,’ अध्यक्ष कटुवालले भने, ‘एउटै घरमा बसेको र घुलमिल समेत भएकोले आफै अस्पतालको आइसोलेसनमा आएँ ।’ घरमा बस्दा परिवार र समाजका अन्य सदस्यलाईसमेत समस्या हुने देखेर नै अस्पतालको आइसोलेसनमा आएको उनले बताए ।
कटारी नगरपालिका– २ गुँरास अस्पतालको आइसोलेसनमा भर्ना भएको अस्पतालका सूचना अधिकारी इसराइल राईनले बताए । अध्यक्ष कटुवाल अब चिकित्सको प्रत्यक्ष निगरानीमा अस्पतालको आइसोलेसनमै रहने उनले बताए ।
त्यसैगरी संक्रमित पत्रकारसँगै सम्र्पकमा रहेका दुईमध्ये एक उदयपुर जिल्ला अस्पतालको आइसोलेसन र सँगै एउटै घरमा बस्ने अर्का पत्रकार होम क्वारेन्टाइनमा रहेका छन् । संक्रमित पत्रकारको कोडिभ–१९ अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया