उदयपुर । जिल्लामा लकडाउन खुकुलो बनाउने जिल्ला समन्वय समितिको निर्णय २४ घण्टा नबित्दै उल्टिएको छ । लकडाउन खुकुलो भएमा जोखिम बढ्ने भन्दै सर्वसाधरणले निर्णयको चर्को आलोचना गरेपछि झनै कडाई गरिएको हो ।

लकडाउन उलंघन बढ्यो भन्दै गुनासोपछि प्रहरीले तीन दर्जन बढी मोटर साइकल नियन्त्रणमा लिइएको थियो । मानिसको चहलपहल ह्वात्तै बढेपछि फाटफुट पसलहरु खोल्न थालेपछि प्रहरीले माइकिङ गरेर आवतजावत बन्द गर्नुको साथै पसलहरुलाई पूर्णरुपमा बन्द गराईएको थियो ।
जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारको अध्यक्षतामा बसेको बैठकले लकडाउनका कारण दैनिक उपभोग्य वस्तु खरिद तथा बिक्रीमा कठिनाई भएको, आवतजावतमा समस्या र बिरामीलाई औषधि उपचारको समस्यालाई मूल कारण देखाउँदै लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो ।
लकडाउन खुकुलो पार्न खोजेपछि सर्वसाधारणले तीव्र आलोचना गरे । बैठकले कोरोना संक्रमण, नियन्त्रण र रोकथामका लागि पीसीआर विधिबाट हुने नमुना परीक्षणको दायरा बढाउन प्रदेश र संघीय सरकारसँग माग गर्ने निर्णय पनि गरेको थियो ।
स्थानीय तहका प्रमुखले थप राहत बाँड्न नसक्ने भन्दै लकडाउन खुकुलो बनाउन दबाव दिएपछि उक्त निर्णय भएको बैठकमा सहभागी पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खडकाले बताए । उनका अनुसार स्थानीय तहले राहतको विकल्पमा लकडाउन खुकुलो बनाउन बैठकमा सुझाएका थिए । आइतबारको बैठकमा स्थानीय तह, प्रमुख राजनीतिक दल प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीसहित सुरक्षा निकाय प्रमुखहरु, निर्माण व्यवसायी, उद्योगी व्यापारी लगायत सहभागी थिए । तर, समन्वय समितिको निर्णयप्रति प्रमुख जिल्ला अधिकारी पहाडीसहित केहीले असहमति जनाएका थिए ।
लकडाउन खुकुलो पार्ने, खोल्ने वा कोभिड १९ सँग सम्बन्धित कुनै पनि निर्णण जिल्लाको कारोना नियन्त्रणसम्बन्धीको समिति (जिल्लास्तरको सीसीएमसी)ले मात्र गर्ने सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताए । लकडाउनको मोडालिटी पहिलेजस्तो थियो, त्यस्तै छ, अझै कडाई गरिएको भट्टराईले बताए ।
सोमबार जिल्ला प्रहरी कार्यालय माइकिङ नै गरेर पहिलेले जस्तो लकडाउन थियो, त्यस्तै छ । भन्दै लकडाउनको पालना गर्न अनुरोध गरेको थियो । उदयपुरमा कोरोना संक्रमणको जोखिम नहटेकोले लकडाउनमा कुनै लचिलो नरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार सोमबार मात्रै लकडाउन उलंघन गर्ने तीन दर्जन बढी मोटर साइकल नियन्त्रणमा लिइएको जनाएको छ । जिससको निर्णयले बजारमा चहलपहल ह्वात्तै बढेको थियो भने बजार तथा पसलहरु फाटफुट खुल्ने क्रममा रहेको थियो ।
उदयपुरको त्रियुगा नगरपालिका –३ भुल्केमा ३२ जना कोरोना संक्रमित भएका छन् । तीमध्ये १४ उपचारपछि क्वारेन्टाइनमै छन् ।

तपाईको प्रतिक्रिया