उदयपुर । विहिबार दिउँसो आएको हावाहुरीले त्रियुगा नगरपालिकाका विभिन्न वडामा तीन दर्जन बढी घरको छानो उडाएको छ । त्रियुगा नगरपालिका ७ गुन्टेमा रौतामाई गाउँपालिका १ का वडाध्यक्ष रुद्रबहादुर कार्कीको घरको छाना सहित तीन दर्जन घरमा क्षति गरेको छ ।

त्रियुगा नगरपालिका वडा नं. ७ मा रामविकास नेपाली सहित तीन घरमा क्षति गरेको छ । रामविकास नेपालीको घरको टिनको छानो सहित तीन जनाको घरको टिनको छानो पूर्णरुपले उडाएको त्रियुगा नगरपालिका ७ का वडाध्यक्ष भिमबहादुर पुलामीमगरले जानकारी दिए । उनका अनुसार आँप, लिच्ची नष्ट गर्नुको साथै केही गाई गोठमा हावाले क्षति गरेको छ ।
यस्तै त्रियुगा नगरपालिका ८ शाही खोला लगायत ठाउँमा १७ भन्दाबढी घरमा क्षति पुर्याएको छ । सघन सहरी विकास तथा भवन डिभिजन कार्यालय अन्तर्गत बनेका पदम बहादुर नेपालीको घर समेत उडाएको त्रियुगा नगरपालिका ८ का वडाध्यक्ष कमल कुमार राउतले बताए । सोही वडामा भैर बहादुर परियार, कुविरमान दनुवार, कन्चन बाल विकास माटीखोलाको च्यादर समेत उडाएको छ । बम बहादुर खत्री, सन्तोष राउत लगायत १७ भन्दाबढीको घरमा क्षति पुर्याएको वडाध्यक्षले जनाएको छ । यस्तै त्रियुगा नगरपालिका १६ शाहीखोला, सुकौरा लगायतको क्षेत्रमा गरी एक दर्जन घरमा हावाहुरीले क्षति पुर्याएको छ । रेवती कार्की, देवी प्रसाद पोखरेलको घरको साथै गाई गोठ लगायतको जस्ता र टायलको छानो उडाएको वडाध्यक्ष मानबहादुर राईले जानकारी दिए । उनका अनुसार उनीहरुको परिवारैलाई अहिले आधारभूत विद्यालय शाहीखोलामा राखिएको छ ।
यस्तै त्रियुगा नगरपालिका २ मा मसिलाल साहको घरको टिन उडाएको छ । उनको पुरै घरमा क्षति पुगेको छ ।
यस्तै हावाहुरीले त्रियुगा नगरपालिका १६ सुकौरा आसपासमा २० भन्दा बढी पोल ढलेपछि सो क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । विद्युत अवरुद्ध भएपछि घरमा विजुली बत्ती बलेको छैन, मोवाइल चार्ज नहुँदा सम्पर्क हुन छोडिएको वडाध्यक्ष मानबहादुर राईले जानकारी दिए ।
यस्तै कटारी र चौदण्डीगढी नगरपालिका पनि आधा दर्जन बढी घरको टिनको छानो उडाएको छ । चौदण्डीगढी नगरपालिका ४ बसाहका गणेश बहादुर घिमिरेको घर नजिकै रहेको सिमलको रुख गोठमा ढल्दा एउटा गाईलाई रुखले किचेर ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया