उदयपुर । विहिबार दिउँसो आएको हाबाहुरीले उदयपुरमा एक ७ महिनाको बच्चा सहित घरको छाना नै उडाएको छ । त्रियुगा नगरपालिका ७ सितलपुरका रामविकास नेपालीको ७ महिनाको छोरो सहित टिनले छाएको घर उडाएको छ ।
छिमेकी ढक बहादुर परियारका अनुसार ७ महिनाको रामविकास नेपालीको ७ महिनाको छोरा विपिन्द्र नेपालीलाई ५० मिटर भन्दा पर उडाएको थियो । उनले भने, ‘हेर्दा हेर्दै बाँसको कोरामा सारीको झोलुङ्गोमा सुतिरहेको बच्चा सहित टिनको छानो हावामा आकाशमै उडिरहेको थियो । घरको छानोको एक पाखा २० मिटरको दुरीमा खस्यो भने बच्चा भएको पाखो ५० मिटरको दुरीमा हावामै उडिरहेको थियो ।’ हावाहुरी आएपछि बुवाआमा घरको अरु काम गर्न थालेपछि एक्कासी आएको हावाहुरीले घरको टिनको छानोसहित बालक उठाएको थियो ।
उनले भने, ‘फिल्मी शैलीमा हेर्दा हेर्दै घर हावामा उडेपछि बच्चा रहेको थाहपाएपछि हामीले कुदेर गयौं । टिनको छानो एक ठाउँबाट अर्को ठाउँमा खप्पकै राखेकोले बच्चा उछिटिएर मकैबारीमा पुगेपछि भगवानको कृपाले केही भएन् ।
टिनले छाएको घरको कोरामा बाझिएको साडीको झोलुङ्गोमा सुतिरहेको बच्चा पनि हावाहुरीले उडाएको त्रियुगा नगरपालिका ७ का वडाध्यक्ष भिमबहादुर पुलामी मगरले पुष्टी गरेका छन् ।
बच्चाको आँखा, नाक, कानमा सामान्य चोट लागेको छ । बच्चाको अवस्था अहिले ठिक रहेको वडाध्यक्षले बताए । वडाध्यक्षका अनुसार हावाहुरीले घर उडाउँदा एक लाख बढीको क्षति भएकोले क्षतिपूर्तिको लागि नगरपालिकासँग पहल गरेको बताए ।

तपाईको प्रतिक्रिया