उदयपुर । कोरोना भाइरसको संक्रमण जितेका थप ८ जना संक्रमितलाई आज शुक्रबार बिहान विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट डिस्चार्ज गरिँदै छ । स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उपचाररत संक्रमित मध्ये ७ नेपाली र एक भारतीय गरेर ८ जनालाई डिस्चार्ज दिन लागिएको हो ।
शुक्रबार डिस्चार्ज हुनेमा भुल्केकै एक महिलासहित ५ जना, भारतीय जमाति १ जना र विराटनगरका २ जना रहेको सामाजिक विकास मन्त्रालयका एक अधिकारीले बताए ।
उदयपुरमा संक्रमित अवस्थामा फेला परेका उनीहरुलाई वैशाख ९ गते उपचारका लागि विराटनगर ल्याइएको थियो । कोरोना उपचार केन्द्रमा भर्ना भएको १४ दिन अवधि पुगेका १५ जनाको पीसीआर परीक्षण गर्दा ८ जनाको रिपोर्ट नेगेटिभ र ७ जनाको पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएकालाई भने चिकित्सकको निगरानीमा थप उपचार जारी राखिने छ । उपचाररत मध्ये उपचार केन्द्रबाट यस अघि बुधबार पहिलो पटक ६ जना भारतीय नागरिकलाई डिस्चार्ज गरिसकिएको छ ।
कोरोना पुष्टि भएका ३१ जनालाई उपचारका लागि केन्द्रमा भर्ना गरिएको थियो । ६ जना डिस्चार्ज भएपछि २५ जना उपचाररत थिए । अब ८ जना डिस्चार्ज भएपछि १७ जना रहने छन् । संक्रमित मध्ये २८ जना उदयपुर, २ झापा र १ भोजपुरका छन् । डिस्चार्ज भएर उपचार केन्द्रबाट विदा हुने तयारीमा रहेका र उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कोसी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले बताइन् ।
प्रदेश १ मा बिहीबारसम्म कोरोना भाइरस संक्रमणको आशंकामा परीक्षणका लागि १ हजार ७ सय ८९ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४ सय २२ महिला र १ हजार २ सय ९० पुरुष गरी १ हजार ७ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ४६ जनाको रिपोर्ट आउन बाँकी छ ।
आरडिटी विधिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण गरिएको छ । आरडिटी परीक्षण गरिएका मध्ये १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आरडिटी गरिएका १ हजार २ सय १२ महिला र ५ हजार ५ सय ६० पुरुष गरी ६ हजार ७ सय ७२ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया