काठमाडौं । आज वैशाख पूर्णिमा । वैशाख पूर्णिमालाई पर्वैपर्वको पूर्णिमा हो । वैशाख पूर्णिमा विभिन्न जातजातिले आफ्नो रीत अनुसारका मनाउँछन् ।
बुद्धजयन्तीआज २५६४ औं बुद्धजयन्ती ।भगवान गौतम बुद्धको सम्मानमा देशका विभिन्न विहार गुम्बा र चैत्यहरुमा पूजाप्रार्थना गरी यो पर्व मनाइँदैछ । बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा विशेष भक्तिपूर्वक पूजाआजा ईशापूर्व ५६३ को वैशाख पूर्णिमाका दिन नेपालको रुपन्देहीस्थित लुम्बिनी बगैंचामा उहाँको जन्म भएको थियो । २९ वर्षसम्म कपिलवस्तुको तिलौराकोट दरबारमा बसेर उहाँले ज्ञानको खोजी गर्दै गृहत्याग गर्नुभएको थियो । महाभिनिष्क्रमणपश्चात पीपलको रुखमुनि ध्यान गर्दा गर्दै ३५ वर्षको उमेरमा वैशाख पूर्णिमाकै दिन उहाँले बुद्धत्वज्ञान प्राप्त गनुृभएको थियो । बुद्धत्वप्राप्तिपछि जीवनभर बौद्धदेशना गर्दै हिंडेर उहाँले ८० वर्षको उमेरमा वैशाख पूर्णिमाकै दिन महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो ।
भगवान बुद्धको जीवनीमा वैशाख पूर्णिमा महत्वपूर्ण दिनका रुपमा रहेकाले बौद्धमार्गीहरु तथा ज्ञानका उपासकहरु यस पूर्णिमालाई त्रिसंयोगको पर्व मान्ने गर्दछन् । यस अवसरमा काठमाडौको स्वयंभूनाथ, बौद्धनाथ,फर्पिङ,काभ्रेको नमो बुद्ध,खोटाङको हलेसी,सिन्धुपाल्चोकको तार्केघ्याङ,चिरीघ्याङलगायतका बौद्धधामहरुमा भगवान् गौतम बुद्धको विशेष पूजाआजा गरी बुद्धजयन्ती मनाइँदै छ । भगवान बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि उहाँको अस्थिधातु राखिएको नवलपरासीको रामग्राममा पनि आज श्रद्धापूर्वक बुद्धजयन्ती मनाइँदैछ ।
मध्यम मार्गबाट शान्तिप्राप्ति गर्ने बुद्धको दर्शन देशमा मात्र नभई संसारमा विस्तारित भएकाले नेपाल, भारत, चीन, वर्मा, श्रीलंका, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, कोरिया, जापानलगायत विश्वभर आज बुद्धजयन्ती मनाइँदैछ । भगवान बुद्धको सन्देश र संयुक्त राष्ट्रसंघको उद्देश्य समान रहेको पाइन्छ । यसै कारणले विश्व संस्था राष्ट्रसंघले पनि बौद्धदर्शनको विस्तार र बुद्धजन्मस्थल लुम्बिनीको विकासमा सहयोग गर्दै आएको छ ।

उभौली पर्व
किरात समुदायमा चण्डीपूर्णिमाका दिन प्रकृतिको पूजाआजा गरी चण्डीनाच नाच्ने चलन छ । हिउँद लागेपछि जाडो छल्न उँधो बेंसीमा झारिएका गाईबाच्छा गर्मी लागेपछि चण्डीपूर्णिमादेखि उँभो लेकतिर लानथालिने हुँदा राईकिरात समुदायमा यस पूर्णिमालाई उभौली पर्वको रुपमा मनाउने गरिन्छ । यस अवसरमा किरात समुदायका सदस्यहरु खुला स्थानमा भेला भई नाचगान गर्ने गर्दछन् । विश्वभर फैलिएको कोरोना भइरसको संक्रमण रोक्न गरिएको लकडाउन कारण बुद्धजयन्तीका अवसरमा गरिने कार्यक्रमहरु प्रभावित भएका छन् ।

चण्डीपूर्णिमा
वैशाख पूर्णिमालाई सनातन संस्कृतिको सभ्यतामा चण्डीपूर्णिमा भनिन्छ । चण्डीपूर्णिमका दिन देशका विभिन्न देवीमन्दिरहरुमा भगवती चण्डीको पूजाआजा गर्ने परम्परा छ । यस दिन तनहुँको बन्दीपुरमा चण्डेश्वरीको रथयात्रा गर्ने चलन पनि छ । साथै भक्तपुर रानीकोटमा बाघ भैरवको पूजा गरिन्छ भने ललितपुरको गोटीखेलमा वैतरणीधाम स्नान गरिन्छ । आजै वैशाख स्नान समाप्त गरी गण्डकीक्षेत्रमा घाँटुनृत्य विसर्जन गरिन्छ ।

गोरखनाथ जयन्ती
आजै नाथसम्प्रदायका गुरु गोरखनाथको जन्मजयन्ती मनाइन्छ । गाईको रक्षा गरी दुनियालाई ज्ञानको आलोक दिंदै स्वराष्ट्रको रक्षार्थ समर्पित हुन आह्वान गर्ने गुरु गोरखनाथले नेपाल एकीकरणका अभियान्ता राजा पृथ्वीनारायण शाहलाई समेत शिक्षा प्रदान गरेको प्रसंग छ ।

तपाईको प्रतिक्रिया