लहान । शान्तिका अग्रदूत तथा अहिंसाका प्रवर्तक गौतम बुद्धको जन्मजयन्तीको अवसरमा शान्तिका लागि विभिन्न कार्यक्रम गरिने भएपनि सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी मन्दिरमा लाग्ने मेला यस वर्ष स्थगित भएको छ । बुद्ध पुर्णिमाको दिन हजारौंको संख्यामा बली चढ्ने राजदेवी मन्दिरमा यस वर्ष कोरोना भाइरसबाट बच्न र सरकारले गरेको लकडाउनलाई पूर्ण पालना गर्न मेला स्थगित गरेको हो ।
लहान बजार देखि करिब ५ केलोमिटर उत्तर रहेको राजदेवी मन्दिरमा (देवी थान) वर्षौ वर्षदेखि लाग्दै आएको मेला यस पटक कोभिड १९ लकडाउनका कारण (देवीथान) मेला स्थगित गरिएको राजदेवी मन्दिर संरक्षण विकास समितिले जनाएको छ । यस वर्ष बुद्ध जयन्ती बैशाख २५ गते परेको छ ।
लहान नगरपालिकाले समेत सूचना जारी गर्दै राजदेवी (देवी थान) मा मेला नलागने निर्णय गरेको छ । विश्वभर कोरोना भाइरसका (कोभिड–१९) को प्रभावलाई नियन्त्रण गर्न देशभर लागू भएको लकडाउनलाई पूर्ण पालना गराउनका निम्ति मेला लाग्न नदिइने निर्णय भएको हो ।
मन्दिरमा सिरहा, सप्तरी, सुनसरि ,उदयपुर, धनुषा, सर्लाही, मोहतरी ,बारा , पर्सासहित छिमेकी मुलुक भारतको बिहारको उत्तरी क्षेत्रका दर्शनार्थीहरुको भिड लाग्ने गरिन्थ्यो । यस मन्दिरमा पशुपक्षीको बलि दिएर राजदेवी माताको भाकल अनुसार पूजाअर्चना गरे सन्तान प्राप्ति, रोगव्याधिबाट मुक्ति र मनोकांक्षा पूरा हुने विश्वास रहेको छ । मन्दिरमा बोका, पाठी, हाँस, परेवा, कुखुराको बलि चढाउने गरिन्छ । भने बारा गढीमाई पछिको नेपालके दोश्रो पशुपक्षीको बलि राजदेवी मन्दिर (देवी थान )मा दिनेगरिछ । एक बिघा पाँच कठ्ठा पाँच धुर क्षेत्रफलमा जङ्गलको बीचमा रहेको मूर्ति बिनाको मन्दिरमा छ । बलि दिइएको पशुपक्षीको रगतले मन्दिर परिसर रक्ताम्मे हुने भएपनि भोलिपल्टदेखि दुर्गन्ध नआउने र झिँगा समेत नलाग्ने हुँदा त्यसमा राजदेवीको शक्ति रहेको जनविश्वास रहेको छ ।
यस अघि सलहेश फुलबारी, सप्तरीमै शम्भुनाथ मन्दिर, खोतरदेवी, गोरराज मन्दिर र सिरहामै पकडिया गढ, मानिक दह, धमनी माई मेला र पतारी मेला समेत स्थगित भएको छ ।