सुखिलाल चौधरी, उदयपुर । पछिल्लो दुई सातायता कोरोना भाइरस (कोभिड–१९) संक्रमणले मुलुककै ‘इपिसेनटर’ बन्न पुगेको उदयपुरको भुल्केमा कहाँबाट संक्रमण फैलिएको बारे सर्वत्र चर्चा परिचर्चा रहेको छ । भुल्केमा मात्रै २८ जनामा संक्रमण देखिएपछि वास्तविक कसबाट संक्रमण फैलिएको बारे अझै निक्र्यौलमा पुग्न नसकेकोमा केही तथ्यहरु यस प्रकार रहेको छ ।
दुबईबाट आएका एक युवकमा पनि संक्रमण देखिएको छ । उनको बाबुको मृत्यु भएपछि दुबईबाट फागुन १० गते नेपाल आएका थिए । त्यसको भोली पल्ट विहानै काठमाडौंबाट जनकपुरसम्म हवाई मार्ग र जनकपुरबाट निजी भारतीय नम्बर प्लेटको बोलेरोमार्फत घर आई पुगेको देखिन्छ ।
उनी यस अघि नै संक्रमित थिए वा पछि संक्रमित भए भन्ने अझै प्रष्ट हुन सकेको छैन् । उनी सुगर र प्रेसरका विरामी हुन् । उनी आफैले चैत्रको पहिलो साता बाबुको स्मृतिमा मस्जिद्मा खानेपानीको धारा जडान गर्नुको साथै शौचालय र बाथरुममा पनि धारा जडान गरि सहयोग गरेका थिए । त्यस कार्यमा आफैले पनि दैनिक तीन चार घण्टा गरी पाँच सात दिनसम्म १६ जमाति र उर्दु पढ्ेर आएका विद्यार्थीसँगै काम गरेका थिए । त्यही समय अरुबाट संक्रमित भएको हो वा उनले १६ जमाति वा अन्यलाई संक्रमित गराएको एकिन हुन सकेको छैन् । उनका श्रीमति, भाई लगायत अन्य परिवारमा संक्रमण देखिएको छैन् ।
अर्का संक्रमति दिल्ली बैंगलौरबाट फागुन ३० गतेमात्रै भुल्के आएका देखिन्छ । उनी पनि भारतको जयनगर हुँदै नेपाल प्रवेश गरेको देखिन्छ । उनी घरमा आएपछि केही दिन घरबाट बाहिर ननिस्केको स्थानीयहरु बताउँछन् । उनको खासै स्थानीयसँग उठबस नभएपनि माक्स बनाउने श्रीमान् श्रीमतिसँग प्रायः नजिक रहेको स्थानीयहरु बताउँछन् । उनी मदरसा लकडानपछि मात्रै जान थालेको स्थानीयहरु बताउँछन् । उनका श्रीमतिमा भने संक्रमण देखिएको छैन् ।
भारतमा कोरोना संक्रमण फैलिएपछि स्कूल कजेल बन्द भएपछि युपीको लखनउमा उर्दु पढ्ने एक विद्यार्थी चैत्र ५ गते रेलमार्ग हुँदै भारतको जयनगरबाट नेपाल प्रवेश गरेका देखिन्छ । उनी सिरहा माडरमा राजविराज जाने बसमार्फत लहानसम्म आएको देखिन्छ । उनी लहानबाट सोही दिन विङ्गरमा मोतिगडा र मोतिगडाबाट आफ्नै बाबुको अटोमार्फत घर आईपुगेको ‘ट्राभल हिस्ट्री’ खुलेको छ । घर आएको केहीदिनपछि ज्वरोसमेत आएको उनलाई स्थानीय मेडिकलबाट औषधि किनेर खाएपछि सामान्य भएसँगै मस्जिदमा बाक्लो आउजाउ भएको पाइएकाले रोग संक्रमण उनीबाटै भएको स्थानीयको ठहर छ ।
उनको परिवारका अन्य ४ जना उनका बुबा, फुपाजु, फुपु र भाईमा समेत संक्रमण देखिनुले पनि उनीबाटै संक्रमण फैलिएको आशंका स्थानीयको छ ।
गाईघाट बजारमा पसल गरेर बसेका फुपाजु, फुपु र भाई लकडाउनको तेस्रो वा चौथो दिन पछि मात्रै भुल्के ससुराली आएको देखिन्छ । फुपु, फुपाजुलाई लकडाउनमा बजारको घरमा आउँजाउँ गर्न, तरकारी किन्न जान असहजिलो भएपछि ससुरालीले नै उनीहरुलाई भुल्के बोलाएका थिए ।
उर्दु पढ्ने विद्यार्थीले लकडाउनमा फसेका १६ जमातीलाई खाना पकाएर खान दिनेदेखि सेवा सत्कारसम्मको काम गरेको हुनाले उनैबाट जमातीहरुलाई संक्रमण फैलाएको आंकल स्थानीयले गर्दै आएको मुस्लिम टोल विकास संस्थाका सचिव अनिस राइन बताउँछन् ।
उर्दु पढ्ने विद्यार्थीबाटै मस्जिदका मुली (पुजारी) संक्रमित भएको आशंका स्थानीयहरुले गरेको छ । पुजारी स्थानीय मदरासाका प्रा.वि. शिक्षक पनि हुन् । उनको घर सप्तरी सुरुङ्गा नगरपालिका ११ अरहा भजोखाका हुन् । उनी हप्ता हप्ता दिनमा घर जान आउने गर्ने गर्दथे । उनको ३३ जनाको परिवारमा कसैमा संक्रमण देखिएको छैन् । उनी फागुन पहिलो साता सप्तरीको बोदे बसाईनमा भएको मुस्लिमको अन्तर्राष्ट्रिय सम्मेलन इज्तिमा कार्यक्रममा भने सहभागी भएका थिए ।
अर्का सप्तरी सुरुङ्गा नगरपालिका ११ अरहा भजोखाका उनी पनि केही समय अगाडी मात्रै भारतको सुरत हुँदै नेपाल आएका थिए । उनी चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेमा मावालीमा विहेमा आएका थिए । उनी भुल्के आएपछि लकडाउनमा फसेका थिए । उनको सप्तरीको परिवारमा कसैमा कोरोना संक्रमण देखिएको छैन् । उनी लकडाउनमा मस्जिदमा नवाज पढ्न जानेबेलामा संक्रमण भएको आशंका स्थानीयहरुको छ ।
भुल्के सामुदायिक वन उपभोक्ता समूहको अर्डरमा ८ सय २० माक्स बनाउने श्रीमान श्रीमति नै संक्रमित भएका छन् । लकडाउनमा उनको परिवारमा दिल्ली बंगलौरबाट आएका युवक र उर्दु पढ्ने विद्यार्थीका परिवार साँझ विहान प्रायः आउने जाने गरिरहेकोले दुई मध्ये एकबाट श्रीमान श्रीमतिमा संक्रमित फैलिएको स्थानीयहरुले अनुमान लगाएका छन् । माक्स बनाउनेका बुहारी, नाति र नातिनीमा भने संक्रमण देखिएको छैन् ।
मस्जिदमा नवाज पढ्न सवै गएको देखिन्छ । संक्रमितहरु सवै मस्जिदको २५–३५ मिटरको दुरी आसपासका हुन् ।
यस्तै धर्म प्रचारकबाट कोरोना फैलिएको अनुमान गलत सावित भएको छ । धर्म प्रचारक भारतबाट मंसिर २५ गते जोगवनी नाका भएर नेपाल प्रवेश गरेको रेल टिकट प्रमाण बोकेका भारतीय धर्म प्रचारकहरु सदरमुकाम गाईघाटदेखि ३ किलोमिटर दक्षिण भुल्के मस्जिदमा चैत ५ गते आएको खुलेको छ । त्यसअघि १२ भारतीय र ४ नेपाली मोरङ, सुनसरी र सप्तरीका बिभिन्न मस्जिदमा हुँदै उदयपुरको सुन्दरपुरसँग सीमा जोडिएको सप्तरीकै फत्तेपुर मस्जिद बसेर उदयपुर प्रवेश गरेको ट्राभल हिस्ट्री प्रहरीले पत्ता लगाएपछि संक्रमण उनीहरुबाट नभई नेपालीबाट सरेको अनुमान गरिएको छ ।
सिवाईभन्दा अगावै फत्तेपुर मस्जिद, बरमझिया मस्जिदमा बस्नेहरुको स्वाब रिपोर्टसमेत नेगेटिभ आएपछि उनीहरुबाट संक्रमण फैलिएको सुरुवाती अनुमान मिथ्या सावित भएको छ ।
यस्तै बैशाख १३ गते सिबाई, मोथियाही लगायतको ठाउँको व्यक्ति गरी १ सय १० जनाको स्वाब परीक्षण (पिसिआर) रिपोर्टमा सबै नेगेटिभ देखिएपछि भारतीयबाट संक्रमण फैलिएको अनुमान गलत प्रमाणित भएको हो । मोरङ र सुनसरीमा समेत भारतीय जमातीहरु बसेको मस्जिदमा सम्पर्कमा रहेको व्यक्ति कसैमा पनि संक्रमण देखिएको छैन् । उनीहरु भुल्केकै नुरी मस्जिदमा संक्रमित भएको अनुमान गर्न सकिन्छ ।
१२ भारतीय, चार विराटनगर (मोरङ) र १२ स्थानीयको कोशी कोरोना विशेष अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया