उदयपुर । कोरोना भाइरस (कोभिड १९) को त्रास बढेपछि जिल्ला भित्रने स्थानीयको तथ्यांक लिन थालिएको छ । फागुन ३० देखि चैत मसान्तसम्ममा दुई सय ८३ जना भारत र तेस्रो देशबाट आएका मात्रै छन् ।
विदेशबाट आउनेमा भारत, साउदी, कतार, दुबई, मलेसिया, चिन, जापानबाट समेत आएको तथ्याङ्क देखिएको छ । भारतबाट उदयपुर भित्रिनेको संख्या एक सय ९७ जना देखिन्छ भने तेस्रो मुलुक कतार, मलेसिया, दुबई, जापान, चिन लगायत देशबाट ८६ जना भित्रिएको रेकर्ड स्थानीय तहहरुसँग रहेको देखिन्छ ।
उदयपुरमा सवैभन्दा कम लिम्चुङबुङ गाउँपालिकामा १५ जना मध्ये १४ जना भारतबाट र एक जना कतारबाट आएको स्थानीय तहसँग तथ्याङ्क रहेको छ ।
कटारी नगरपालिकामा एक जना जापान, एक जना कतार र २० जना भारतबाट आएको तथ्याङ्क रहेको छ ।
ताप्ली गाउँपालिकामा २ जना मलेसिया र २५ जना भारतबाट आएको तथ्याङ्क रहेको छ । त्यसमध्ये कटारी स्थित बेलस्रोतमा रहेको नेपाली सेनाको क्वारेन्टाइनमा बसेर घर फर्किए सकेका छन् ।
उदयपुरगढी गाउँपालिकामा २३ जना मध्ये मलेसियाबाट ३ जना, कतारबाट एक जना र १९ जना भारतबाट आएको स्थानीय तहसँग तथ्याङ्क रहेको छ ।
रौतामाई गाउँपालिकामा ४६ जना चैत्र मसान्तसम्म नेपालको विभिन्न ठाउँ बाहेक भारत लगायत तेस्रो मुलुकबाट आएको तथ्याङ्क रहेको छ । जसमा २९ जना भारत र १७ जना तेस्रो मुलुक कतार, मलेसिया लगायतको देशबाट आएको स्थानीय तहले जनाएको छ ।
त्रियुगा नगरपालिकामा चैत्र २७ गतेसम्मको तथ्याङ्कका भारतबाट ११ जना र तेस्रो मुलुक दुबई, कतार, मलेसियाबाट १५ जना गरी २६ जना आएको तथ्याङ्क देखिन्छ ।
चौदण्डीगढी नगरपालिकामा चार जना तेस्रो मुलुक र ४५ जना भारतबाट आएको तथ्याङ्क रहेको छ । चौदण्डीगढीमा १८ जना क्वारेन्टाइनमा रहेका थिए भने अन्य होम क्वारेन्टाइनमा बसेको तथ्याङ्कले देखाउँछ ।
यस्तै बेलका नगरपालिकामा चिन सहित ४१ जना तेस्रो मुलुकबाट आएको देखिन्छ भने ३४ जना भारतबाट आएको नगरपालिकासँग तथ्याङ्क रहेको छ । बेलकामा ७७ जना क्वारेन्टाइनमा र तीन सय ४१ जना होम क्वारेन्टाइनमा रहेको तथ्याङ्कले देखाउँछ ।
कोरोना भाइरसको संक्रमणको आंशका बढेपछि बाहिरबाट आएर जिल्ला प्रवेश गर्नेहरुको लगत संकलन गरी सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताए । उनीहरु सबैलाई वडा कार्यालयको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया