उदयपुर । कोरोना संक्रमणको इपिसेन्टरको रुपमा रहेको त्रियुगा नगरपालिका ३ स्थित भुल्केबाट थप आठ जनाको स्वाब संकलन गरिएको छ । २८ जना कोरोना संक्रमित भेटिएको स्थानमा छुटेका थप आठ जनाको स्वाब सोमबार संकलन गरिएको हो ।
आठ जनामध्ये पाँच जना संक्रमितहरुको सम्पर्कमा रहेका, एक जना तरकारी पसलवाला, सप्तरीबाट आएका एक जना र एक जना स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाद सुवेदीले जानकारी दिए ।
आइतबार मात्रै भुल्केका संक्रमितहरुसँग सम्पर्कमा आएका व्यक्तिहरु तथा मोतिगडामा औषधि पसल, दुग्ध डेरी पसल तथा खाद्यन्न सामग्री खरिद गरेका पसल संचालकहरुको साथै त्रियुगा नगरपालिकाका विभिन्न वडाका ८३ जनाको स्वाब नमुना संकलन गरिएको थियो ।
आइतबार र सोमबार संकलित ९१ जनाको स्वाब परिक्षणको लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको छ ।
यसअघि भुल्के मस्जिद आसपास क्षेत्रका ३ सय ३७ जनाको स्वाप नमुना परिक्षण गरिएकोमा २८ जना संक्रमित भेटिएको थियो ।

तपाईको प्रतिक्रिया