उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा विदेशबाट फर्किएका दुईजनाबाट कोरोना भाइरसको संक्रमण फैलिएको दाबी प्रदेश सरकारले गरेको छ । विहिबार कोरोना संक्रमण क्षेत्रमा सरोकारबालासँगको छलफलको क्रममा दुबई र भारतबाट आएका व्यक्तिमा कोरोना भित्रिएको दावी गरे ।
भारतको युपिमा उर्दु भाषा अध्ययन गरेर घर फर्किएका र दुबईबाट आएका व्यक्तिमध्ये एकजनाबाट संक्रमण फैलिएको हो भन्ने निष्र्कषको नजिक प्रदेश सरकार पुगेको मन्त्री घिमिरेले बताएका थिए । सुक्ष्मअध्ययनले भारतबाट आएका विद्यार्थीकै घरका पाँच सदस्यमा संक्रमण फैलिएको देखिएको छ । १६ जना भारतीय जमातीबाट भन्दा पनि भारत या दुबईबाट आए स्थानीयबाट संक्रमण फैलिएको भन्नेमा प्रदेश सरकार नजिक पुगिसकेको उनले छलफलका क्रममा बताएका छन् ।
प्रदेश सरकारले सुरुमा भुल्केको नुरी मस्जिदमा बसेका १२ जना भारतीय जमातीबाटै संक्रमण फैलिएको आशंका गरेको थियो । तर कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा दुबई र भारतको युपीबाट फर्केका युवकबाट संक्रमण फैलिएको प्रदेश सरकारले निष्कर्ष निकालेको छ । भुल्केमा संक्रमण फैलाएका दुई युवा मात्रै संक्रमित भएर आएका थिए की अन्य व्यक्तिमा पनि संक्रमण छ भन्ने बारे सरकार मौन छ ।
भुल्केमा कन्ट्याक्ट ट्रेसिङ गरी गरिएको घाँटीको स्वाबको नमूना परीक्षणमा दुबई र सुरतबाट आएका युवामा कोरोना भाइरसको घनत्व अत्यधिक भएकाले उनीहरु बाटै संक्रमण फैलिएको निष्कर्ष निकालेको मन्त्री घिमिरेले बताए । उनीहरु कहिले र कसरी आएको भन्ने बारे विवरण सार्वजनिक गरिएको छैन ।ती दुईजनाबाट भुल्केमा बस्दै आएका १२ भारतीय, विराटनगर–१७ का चार जना र उदयपुरकै १२ जना स्थानीय गरी हालसम्ममा २८ जना संक्रमित भइसकेका छन् । संक्रमितको संख्यामा प्रत्येक दिन वृद्धि भइरहेको छ ।
संक्रमितहरुलाई विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा चिकित्सकको निगरानीमा राखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
मन्त्री घिमिरेले भुल्केबाट कोरोना भाइरसको संक्रमण अन्य पालिका र जिल्लामा फैलिन नदिन र भारत तथा तेस्रो मुलुकबाट आएका सबैको घाँटीको स्वाबको नमूना परीक्षण गर्नसक्ने क्षमता सरकारसँग नभएको बताए । उनले त्यसैले संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ भएकाहरुको मात्रै स्वाब परीक्षण भइरहेकाले स्वाब परीक्षणको दायरा बढाउनका लागि संघीय सरकारसँग माग गरेको बताए ।
छलफलको क्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले स्वास्थ्य सामग्री, दक्ष जनशक्ति लगायतका सुरक्षाकवजहरु अभाव रहेकाले तत्काल आपुर्ति गरिदिन आग्रह गरेका थिए । उनले जिल्लाका विभिन्न ठाउँका ४ सय ५ जनामा गरिएको स्वाब परीक्षण मध्ये २८ जनामो कोरोना पुष्टि भएको जानकारी दिए ।संक्रमित क्षेत्रका जनप्रतिनिधि त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले संक्रमित क्षेत्रमा बढी आउजाउँ भएका २ सय ५ जनाको स्वाव र २ हजार १ सय जनार्को यापिड परीक्षण तत्काल गर्नुपर्ने माग गरे । उनले स्वाब परीक्षण धरान र बिराटनगरमा मात्र हुने भएकाले संकलनलगायतका प्राविधिक काममा असहज भएकाले सहजिकरण गरिदिन आग्रह पनि गरे । मेयरका अनुसार अस्पतालमा आएका बिरामीलाई चिकित्सकले उपचार गर्न नमान्ने, एम्बुलेन्स चालकले विरामी बोक्न नमान्ने जस्तो समस्या देखिदै गएकोले यसतर्फ पनि ध्यान दिन आग्रह गरेका थिए । उनले सुरक्षाकर्मीसँग पनि आवश्यक सुरक्षा उपकरण अभावमा संक्रमितको घरसम्म पुग्न नसकेको गुनासो गरे । 
उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले प्रदेश सरकारले उदयपुर जिल्लालाई सिल गर्ने निर्णय गरेपनि अन्य प्रदेशसँग समन्वय नहुँदा वाहिर जिल्लाबाट सर्वसाधारण आउनेक्रम नरोकिएको बताए । उनले यो वेला उ र त्यो भनेर एक अर्कामा दोषारोपण गर्नुभन्दा सबैले जिम्वेवार भएर काम गर्नुपर्नेमा जोड दिए ।
प्रदेश सांसद विमल कार्की, नारायण बुर्जामगर, अम्बिका थापा, जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले लकडाउन थपिदै जाँदा किसान, मजदुरको जीवनयापन कष्टकर बन्दै जानुकासाथै किसानले खेती गर्न र उत्पादन गरेका बस्तु विक्री गर्न नपाएको गुनासो पोखे ।









