उदयपुर । त्रियुगा नगरप्रमुख बलदेव चौधरीले कोविड–१९ महामारीको केन्द्र बन्दै गएको भुल्केलाई ‘डेन्जर जोन’ घोषणा गरी तत्काल दक्ष जनशक्ति र औषधि उपकरणसहितको विशेष अस्पताल खोल्न माग गरेका छन्। मेयर चौधरीले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी जिल्लामा तत्काल विशेष अस्पताल खोलेर उपचार र प्रतिकारमा लाग्न संघ र प्रदेश सरकारसँग माग गरेका हुन्।
मेयर चौधरीले यति धेरै संक्रमित भेटिइसक्दा पनि संघ र प्रदेश सरकारले चासो नदिएको गुनासो गरे। १३ जना संक्रमित भेटिएलगत्तै प्रदेश र संघीय सरकार तथा सम्बन्धित मन्त्रीलाई थप समस्या निम्तिन नदिन अनुरोध गरेको भए पनि आवश्यकताअनुसार दु्रत सेवा नपाएको उनले बताए। मेयर चौधरीले भौतिक पूर्वाधार तयार नभएसम्म जिल्ला अस्पताललाई नै अस्थायी कोरोना अस्पतालको रुपमा प्रयोग गर्न सकिने भन्दै तर काम छिटो गर्नुपर्नेमा जोड दिए।
जिल्लालाई पूर्णरुपमा सिलबन्दी गर्नुपर्ने अवस्था आएकाले आवश्यक खाद्यान्न, तरकारी, ग्यासलगायत उपभोग्य सामग्री अभाव हुन नदिन बेलैमा ध्यान दिन पनि संघ र प्रदेश सरकारलाई सचेत गराइसकेको उनले बताए।

तपाईको प्रतिक्रिया