उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा रहेको २७ जना मुस्लिममा कोरोना पोजिटिभ देखिएपछि चौदण्डीगढी नगरपालिका–५ सिवाईमा पनि स्वाव संकलन गरिने भएको छ ।
नेपाली सेनाको छाउनीस्थित अस्पतालबाट आउने चिकित्सकको टोलीले ५८ घरपरिवारका २७१ जनाको स्वाव संकलन गरिने चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिए ।
उनका अनुसार भुल्केको मस्जिदमा रहेको जमातीहरुको साथै अन्यमा कोरोना पोजिटिभ देखिएपछि सिवाई गाउँमा रहेका मुस्लिम समुदाय र उनीहरुसँग सम्पर्कमा आएका घरपरिवारको स्वाव संकलन गरिने बताए । भुल्केमा आएका जमातीहरु सिवाईमा पनि आएर दुई रात बसेर गएका थिए ।
उनका अनुसार सिवाई ५८ घरपरिवारको स्वाव संकलन सिवाइस्थित स्कुल परिसरमा गरिनेछ । उनले भने, ‘आज सिवाई स्कुलमा चौदण्डीगढी नपा ५ का वडा अध्यक्ष, सेना, प्रहरी र सशस्त्र मिलेर हेलिप्याड, आवश्यक बस्ने ठाउँ व्यवस्था गरिसकेका छ । भोलि सेनाको चिकित्सक टोली छाउनीबाट आउँदैछ ।’
यसअघि छाउनीस्थित सेनाको चिकित्सक टोली उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा दुई दिनमा २ सय ५२ स्वाब संकलन गरेको थियो । 
यता, प्रदेश सरकारले उदयपुर जिल्लाको चारै नाका सिल गरेको छ । त्यहाँ अत्यावश्यक बाहेकका सवारी साधन गुड्न दिइएको छैन भने शंकास्पद रहेका व्यक्तिहरुको धमाधम स्वाव संकलन गरिरहेको छ ।
यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले भुल्केमा रहेका स्थानीयहरुलाई निःशुल्क मास्क, सेनिटाइजर वितरण गरिरहेको छ भने घरमै बस्न आग्रह गरेको छ ।









