सुखिलाल चौधरी, उदयपुर । उदयपुरमा मंगलबार एकै दिन कोरोना भाइरस (कोभिड–१९) का ११ जना संक्रमित थपिएका छन् । यी सबै संक्रमित उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको नुरी मस्जिद आसपासका क्षेत्रका वासिन्दा रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरण, ‘कम्युनिटी ट्रान्समिसन’मा प्रवेश गरेको छ ।
भुल्केको मस्जिदमा रहेका १२ जना (११ भारतीय र एक नेपाली) जमातीमा कोरोना संक्रमण भएको वैशाख ५ गते पुष्टि भएको थियो । त्यसको भोलिपल्ट त्यही समूहका एक नेपाली जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भुल्केमा कोरानो संक्रमित फेला परेसँगै त्यो क्षेत्रलाई सिल गरेर भारतीय जमादीहरुको प्रत्यक्ष सम्पर्कमा आएका ६९ जनाको थ्रोट स्वाब नमूना संकलन गरेर विराटनगरको कोशी अस्पताल पठाइएको थियो, त्यसमध्ये ८ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि पुष्टी गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । धरानमा पुनः परीक्षण गर्दा पनि उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाली सेनाको छाउनी अस्पतालले २५२ जनाको नमुना संकलन गरिएको थियो । त्यसमध्ये काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार तीन जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । २० जनाको रिपोर्ट आउन बाँकी छ ।
एकै परिवारका पाँच जना संक्रमित
मंगलबार कोरोना पुष्टी भएका ११ संक्रमितमध्ये दुई महिला हुन् भने बाँकी पुरुष हुन् । संक्रमितहरु छुट्टाछुट्टै ७ परिवारका छन् भने एकै परिवारका पाँच जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
एकै परिबारका एक ४१ वर्षिय व्यक्ति सहित उनका १८ वर्ष छोरा समेत कोरोना संक्रमित भएका छन् ।
यस्तै संक्रमितका ज्वाई ४१ वर्षिय, ज्वाईका जेठो छोरा १८ वर्षिय, बहिनी ३६ वर्षिय पनि संक्रमित भएका छन् । बहिनी ज्वाई गाईघाटमा बस्दै आएका थिए । लकडाउनमा मात्रै भुल्के गएको स्थानीयले बताएका छन् ।
जो ४१ वर्षिय व्यक्ति हुन् । उनी भारतीय जमादीहरुसँग अधिक नजिक थिए । लकडाउनको समयमा भारतीय जमातीहरुलाई उनैले खानपानको व्यवस्था गर्ने गरेको स्थानीयले बताएका छन् ।
यस्तै एक ५२ वर्षिय पुरुष फागुन ११ गते मात्रै विदेशबाट घर आएका व्यक्ति हुन् । उनी दुबइँबाट आएका हुन् । उनी कहि कत्तै कोरोना चेक जाँच गराएका छैनन् । उनमा शुरु देखि नै ज्वरो आएको
यस्तै संक्रमित २० वर्षिय, ३३ वर्षिय, ४० वर्षिय र ५८ वर्षिय पनि रहेका छन् । उनीहरु सवै पुरुष हुन् । यस्तै उमेर नखुलेको एक महिला पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनीहरु छुट्टाछुट्टै परिवारका हुन् । संक्रमित सवै भुल्केका स्थानीयबासी हुन् ।
संक्रमितहरुको विराटनगरस्थित कोशी कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ । यसअघिका संक्रमित १३ जना त्यही उपचाररत थिए भने १० जनालाई मंगलबार लगिएको छ । थप एक संक्रमितलाई ल्याउने नल्याउने अझै प्रष्ट भएको छैन ।
संक्रमितहरुको पेशा व्यवसाय ?
पछिल्लो चरणमा फेला परेको संक्रमित मध्ये दुई जना बैदेशिक रोजगारबाट भर्खरै फर्केका व्यक्ति हुन भने एक जना गाईघाटमा व्यपार व्यवसाय गर्दै आएका छन ।
यस्तै एक जना अटो चालकमा समेत कोरोना संक्रमण देखिएको छ । भने एक जना शिक्षक पनि रहेको खुलेको छ ।
तीन जना विद्यार्थी मध्ये एक जना युपीमा उर्दु पढ्न गएका थिए ।
यस्तै एक जना टेलर्सको काम गर्ने व्यक्ति पनि संक्रमित भएका छन् । उनले भुल्केकै सामुदायिक वनले भनेर ८ सय पिस माक्स तयार गरे ४ सय स्थानीयलाई बाँडेका थए । उनी गाईभैसी, बाख्राको पनि व्यपार गर्दै आएका थिए ।
अन्यको पेशा भने स्थानीय स्तरमा नै कृषि पेशा भएको देखिन्छ ।
भुल्केमा कहाँबाट फैलियो कोरोना ?
भुल्केमा कहाँबाट कोराना फैलियो भन्ने तर्क आ–आफ्नै छ । भुल्के बस्तीमा १२ भारतीय र चार नेपाली जमातीहरुबाट कोरोना फैलिएको आशंका गरिएको छ भने कसै कसैले विदेशबाट भर्खरै आएकाहरुबाट कोरोना फैलिएको आशंका गरेको छ । जमातीहरुको डिसेम्बर १० तारिक अर्थात मंसिर २४ गतेको रेलको टिकट भेदिएको छ । उनी जोगवनी नाकाबाट प्रवेश गरी मोरङ, सुनसरी र सप्तरीको विभिन्न मस्जिदमा धार्मिक प्रबचन अर्थात शिक्षा दिँदै उदयपुरको भुल्के आईपुगेका हुन् । उनीहरु सप्तरीको फत्तेपुर फागुन २५ गते आएका थिए । त्यसपछि उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाईमा फागुन २९ गते आएका थिए । त्यपछि चैत्र १ गते त्रियुगा नगरपालिका २ मोथियाही मस्जिद आएका थिए भने ५ गते भुल्के आएका थिए । उनीहरु नै उदयपुरको पहिलो कोरोना संक्रमित भएको पुष्टी भएको हो । तथापी उनीहरुको भारत जाउँ आउँ अघिपछि पनि भएको अनुमान गर्न सकिन्छ ।
भुल्केका एक स्थानीयका अनुसार दुई महिना भित्रमा तीन–चार जना विदेशबाट आएका व्यक्तिहरु देखिन्छ । उनीहरुमध्ये एक जना संयुक्त राज्य इमिरेटस् स्थित दुबइँबाट फागुन १० गते आएको देखिन्छ । उनमा पहिले देखि नै ज्वरो आउने गरेको र स्थानीय औषधि पसलहरुको औषधि सेवन गरेको उनकै भाईले जानकारी दिएका छन् ।
यस्तै एक जना चैत्र महिनाको शुरुवातमै भारत दिल्लीबाट भुल्के आएकालाई पनि कोरोना संक्रमण देखिएको छ । उनी १० महिना अगाडी देखि नै दिल्लीको गारमेन्टमा टेलर्सको काम गर्दै आएको थियो । भारतमा कोरोना संक्रमण तिव्र भएपछि उनी घर फर्किएका हुन् ।
यस्तै युपीमा उर्दु पढन गएको विद्यार्थीमा पनि कोरोना पोजिटिभ देखिएको छ । उनी लकडाउन भन्दा केही दिन अगाडी घर आएका थिए ।
अर्को तर्फ भर्खरै फागुन ३–५ सम्म सप्तरीको बोदेबसाईन नगरपालिका ५ जाँजरमा भएको नेपाल इज्तिमा अन्तर्राष्ट्रिय सम्मेलनबाट फर्केकाहरुबाट पनि कोरोना फैलिएको हुन सक्ने अनुमान गरिएको छ । त्यस कार्यक्रममा उदयपुरबाट करिव पाँच सयको संख्या सहभागी भएको अनुमान गर्न सकिन्छ ।
धेरैलाई कोरोना भाइरसको संक्रमण फैलिएको अनुमान गरिएको भारतको राजधानी दिल्लीस्थित बंगलेवाली मस्जिदका नामले चिनिने निजामुद्दिन मरकज मस्जिदमा भएको धार्मिकसभामा परराष्ट्र मन्त्रालयको रेकर्ड अनुसार उदयपुरबाट पाँच जना पनि सहभागी भएको खुलेको छ । उनीहरु आधिकारिक रुपमा गएको देखिन्छ भने अन्य तबरले गएकाहरुको संख्या एकिन छैनन् । उदयपुरका चार जना क्वारेन्टाइनमा छन भने एक जना व्यक्ति अझै पत्ता लागेको छैन् ।
नेपाल भारत आउ जाउँ गर्नेबाट पनि संक्रमण फैलिएको आशंका गरिएको छ । अधिकांश स्थानीयको साइनो, कथा कुटुम्ब भारतको कोही न कोहीसँग रहेकोले त्यता तिरबाट पनि कोरोना भित्रिएको आशंका गरिएको छ ।
एक स्थानीय टेलर्सको काम गर्ने व्यक्ति पनि संक्रमित भएका छन् । उनी उदयपुरमा गाईभैसी, बाख्रा खरिद गरी सिरहा, सप्तरी, सुनसरीको साथै भारतको विहारसम्म निर्यात गर्ने गरेको व्यक्ति हुन् । उनी मार्फत पनि कोरोना भित्रिएको आशंका स्थानीयले गरेको छ ।
समुदाय स्तरमा पुग्यो संक्रमण
कुल संक्रमितमध्ये २४ जना त्रियुगा नगरपालिका भुल्केकै छन् । अर्थात कोरोनाका लागि भुल्के हटस्पट बनेको छ र, त्यहीँ कोरोनाको संक्रमण समुदाय स्तरमा पुगेको पाइएको छ ।
१२ जना जमातीमा देखिएको संक्रमण धेरै स्थानीयमा सरेको पाइएकाले कोरोना संक्रमण समुदायस्तरमा पुगेको मान्नुपर्ने जनस्वास्थ्यविद् डा. अनुप सुवेदी बताउँछन् । उनले भने, ‘आयातीत कोरोना परिवारको एकाध सदस्यमा मात्र सरेको भए लोकल ट्रान्समिसन (स्थानीयस्तरमा संक्रमण) भन्न सकिन्यो । त्यहाँ त फरक फरक परिवारको धेरै संक्रमित पाइएकाले कम्युनिटी लेभलको ट्रान्समिसन (समुदायस्तरको संक्रमण) मान्नुपर्छ ।’
वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार विदेशबाट आएका व्यक्तिमा मात्र देखिनु पहिलो चरण हो भने उनीहरुको आफन्त तथा छिमेकीमा सर्नुलाई दोस्रो चरण भनिन्छ । त्यसैरी समुदायमा नै फैलिनु तेस्रो चरण हो । उनको अनुसार नेपालमा तेस्रो चरण आउनु भनेको खतराको घण्टी हो ।
संक्रमित कसैमा कोरोनाको लक्षण देखिदैन
भुल्केमा भेटिएका संक्रमितहरुमा कसैमा पनि कोरोना भाइरस संक्रमण भएको जस्तो लक्षण नदेखिएको त्रियुगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख अवध नारायण चौधरीले बताउँछन् । उनले भने, ‘कुनै लक्षण देखिएको छैन तर नमुना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।’ उनका अनुसार प्रत्येक स्वास्थ्य संस्था तथा क्वारेन्टाइनमा दुई दुई वटाको दरले व्यक्तिगत सुरक्षा ज्याकेट भएपनि त्यो अपुग गरेको जानकारी दिए । ज्वरो चेक गर्ने थर्मोगन, सेनिटाइजर, सावुन पानीको व्यवस्था बाहेक कोरोना परीक्षण गर्ने आरडिटी किट तथा पिसिआर किट नभएको जानकारी दिए ।
जानकारी हुँदा हुदै पनि प्रशासन मौन बस्दा थपियो कोरोना संक्रमित
कोरोना श्वासप्रश्वासको कारणले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग हो । यो रोग कमजोर व्यक्तिमा बढी सर्ने गरेको पाइएको छ । लकडाउन भए लगत्तै प्रशासनलाई भारतीय जमातीहरुको बारेमा जानकारी गराउँदा पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय मौन बस्दा अरुमा संक्रमण देखिएको स्थानीय पत्रकार यदु ढकाल बताउँछन् । उनका अनुसार जिल्ला प्रशासन कार्यालय, अनुसन्धान कार्यालय र प्रहरीलाई भारतीय जमातीका विषयमा पटक पटक जानकारी गराउँदा पनि कुनै चासो नदिएपछि थप संक्रमण फैलिएको हुन सक्ने बताए । उनले भने, ‘समयमै कोरोना परीक्षण गरेको भए अरु व्यक्ति कोरोना फैलिनबाट जोगिने थिए । तर, भएन ।’
सबै नाका सिल, परीक्षण तीव्र बनाइने
धेरै संख्यामा कोरोना संक्रमित भेटिएसँगै उदयपुर जिल्लालाई सिल गरेर सबै नाका बन्द गरिने भएको छ । प्रदेश सुरक्षा समन्वय समितिको बैठकले लकडाउनलाई अझ कडा बनाउन निर्देशन दिएको छ । साथै संक्रमण देखिएको क्षेत्रबाट उत्पादित वस्तुहरुलाई बाहिर लैजान नदिने निर्णय त्रियुगा नगरपालिकाले गरेको छ ।
भुल्के क्षेत्रमा बाक्लो बसोबास छ । तर अहिले संक्रमण देखिएको मस्जिदमा बाक्लो आउजाउ गर्ने मुस्लिम समुदायका मानिसहरुमा हो । अरुमा संक्रमण देखिएको छैन । तर सम्भावित जोखिमलाई ध्यानमा राख्दै २१ सय जनाको ¥यापिड र २५० जनाको पीसीआर विधिबाट परीक्षण गर्ने निर्णयसमेत भएको छ ।
कोरोना प्रभाबित क्षेत्रका १५ घर थारु समुदाय, ५६ घर मुस्लिम समुदाय र ३ सय ५० घर पहाडे समुदाय गरि ४ सय २१ घर परिवार रहेको भुल्केलाई अहिले सिल गरेको छ । कोरोना संक्रमित क्षेत्र भुल्के गाउँको २५ मिटरको दुरीमा पश्चिम दक्षिणमा नेपाली सेनाको १८ नं. बाहिनी अड्डा पनि रहेको छ ।
त्यहाँबाट कोही पनि बाहिर जान पाउँदैनन् भने त्यहाँ जान पनि निशेध गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका (एसपी) बीरबहादुर बुढा मगरले बताए ।
प्रदेश र केन्द्र सरकारको ध्यान गएन
महमारी फैलन नदिन नगरपालिकाले आपतकालीन बैठकको आयोजना गरी केन्द्र, प्रदेश र सहयोगी निकायसँग सहयोगको अपिल गरेको छ । तर, यतिका संक्रमित फेला परेपनि प्रदेश र केन्द्र सरकारको ध्यान नगएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले जानकारी दिए । उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकार भुल्केमा फैलिएको कोरोना रोकथाममा खासै भूमिका नखेलेको बताए । प्रदेश र केन्द्र सरकारलाई क्याम्प नै खडा गरेर करिव २५ हजार व्यक्तिको कोरोना परीक्षण गर्न माग गर्दा पनि कुनै त्यस्तो जवाफ नआएको मेयर चौधरीले गुनासो गरे । नगरपालिकाले केन्द्र र प्रदेश सरकारलाई पत्र पठाएर संक्रमित क्षेत्र त्रिनपा ३ भुल्के, वडा नं १, २, ६ र १२ का २५ हजार सर्वसाधरणको स्वाब परीक्षण गरिदिन अनुरोध गरेको छ । मेयर चौधरीले भने, ‘ प्रदेश र केन्द्र सरकार सुतेर बसेको अवस्था छ, कोरोना चेक जाँच गर्नु पर्ने सामग्री बजारमा सहजै उपलब्ध छैन । पिपिई, थर्मोगन लगायतको सामग्री भेटिएपनि चार गुणा महंगो छ ।’
उनले भने, ‘त्रियुगा नगरपालिका संक्रमित क्षेत्रमा न प्रदेश सरकार, न केन्द्र सरकारको ध्यान गएकोले अविलम्ब स्वास्थ्य क्याम्प खडा गरी २५ हजारको कोरोना परीक्षण गर्नु पर्यो । सकिदैन भने सकिदैन भन्नु पर्यो, होइन भने कोरोना परीक्षण गर्नु पर्यो ।’
उनले भने, ‘क्वारेन्टाइनका लागि हालसम्म त्रियुगा जनता वहुमुखि क्याम्पसमा २५ वेड तयार भएको छ, त्यतिले मात्र नपुग्ने अवश्था भएकाले थप गर्ने सोचका साथ तयारी थालिएको छ ।’
‘क्वारेन्टाइनको क्षमता विस्तारका लागि सामाजिक संघसंस्थालाई अपिल गरेका छौ’, उनले भने, ‘बिरामीलाई राख्न कोठा, कपडा, झुल, त्रिपाल लगायतका सामग्री चाहिन्छ, जुन हामीबाट सम्भव नभएकाले सहयोग मागेका छौँ ।’
यसबाहेक बस्तिमा औषधि छिट्ने, बस्तीलाई शिल गर्ने, नाका बन्द गर्ने, बजार पसल ठप्प पार्ने, सर्वसाधरण तथा सवारी साधनको आवतजावतमा कडाइ गर्ने, सचेतनामुलक प्रचार प्रसारलाई तीव्रता दिने काम भइरहेको मेयर चौधरीले बताए । एकैपटक संक्रमितको संख्या देशकै सबैभन्दा बढी त्रियुगा नगरक्षेत्रमा देखापरेपछि नगरपालिकाले संक्रमणलाई रोक्न तयारी तीव्र बनाउनुका साथै एक अपील जारी गरी जनतालाई नअतालिन अनुरोध गरेको छ ।









