उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित भुल्के मस्जिदमा एकै पल्ट १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रदेश सरकारले बैशाख ६ गते ६९ जनाको थ्रोट स्वाब नमूना संकलन गरेको थियो । संकलित नमूना मध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अन्यको रिपोर्ट आउन बाँकी रहेको छ ।
संकलित ६९ जनाको स्वाब नमूना मध्ये कोसी अस्पताल विराटनगरको ल्याबमा जारी परीक्षणका क्रममा २० जना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । बाँकीको रिपोर्ट आउने क्रम जारी रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका निर्देशक डा.जयवेन्द्र यादवले बताए ।
आइतबार पनि भुल्के आएको नेपाली सेनाको छाउनी अस्पतालका चिकित्सक टोलीले आइतबार र सोमबार गरी २ सय ५२ जनाको स्वाब संकलन गरेको छ । आइतबार १ सय ५२ जना र सोमबार १ सयको स्वाब नमूना संकलन गरिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले जानकारी दिए । उक्त स्वाबको नमूना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा परीक्षण गरिने छ ।

तपाईको प्रतिक्रिया