उदयपुर । त्रियुगा नगरपालिका –३ भुल्के क्षेत्रमा नेपाली सेनाको चिकित्सक टोलीले थप सय जनाको थ्रोट स्वाब संकलन गरेको छ । त्रियुगा नगरपालिकाको पहलमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको सहयोग र नेपाली सेना छाउनी अस्पतालको प्राविधिक सहयोगमा सोमबार थप एक सय जनाको संकलित स्वाब नमूना संकलन गरेको हो । छाउनी अस्पतालको चार सदस्सीय चिकित्सक टोलीले दुई दिन (आइतबार र सोमबार) लगाएर १ सय ६१ मुस्लिम समुदाय परिवारको साथै मस्जिदसँगै जोडिएको बस्तीका सर्वसाधरण गरी २ सय ५२ जनाको स्वाब संकलन गरेको हो । आईतबार १०८ महिला र ४४ पुरुष गरी एक सय ५२ जनाको स्वाब संकलन गरेको हो ।
२ सय ५२ वटा स्वाब संकलन गर्ने किटसहित छाउनी अस्पतालका मेजर डा. प्राची रायमाझीको नेतृत्वमा चिकित्सक टोली आइतबार भुल्के आएको थियो । टोलीले हाललाई स्वाब संकलन कार्य सकेको नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा भुल्केका बाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटाले वताए । भुल्केस्थित सेनाको फुटबल मैदानमा क्याम्प बनाएर स्वाब संकलन गरिएको थियो ।
भुल्केका ५२ परिवारका १ सय ५१ जना र मोथियाही मस्जिद टोलका १० जनाको स्वाब संकलन गरिएको छ । आइतबार संकलित स्वाबलाई परीक्षणका लागि बिहानै हेलिकप्टरबाट काठमाडौं पठाइएको थियो भने बाँकी सोमबार पठाएको बाहिनपति सापकोटाले बताए ।
मुलुककै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको भुल्केमा ठूलो संख्यामा स्वाब संकलन गरी परीक्षण गर्नुपर्ने स्थानीयको माग थियो ।
शनिबार विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.जयबेन्द्र यादवको नेतृत्वमा खटिएको चिकित्सक टोलीले मस्जिद टोलमा रहेका ६० जना सर्वसाधारणसहित ६९ जनाको स्वाब संकलन गरेको थियो । ती स्वाबको विराटनगरस्थित कोसी अस्पतालमा रहेको ल्याबमा परीक्षण भइरहेको छ ।

तपाईको प्रतिक्रिया