उदयपुर । उदयपुरमा लकडाउनको समयमा पास पाउने र उपलब्ध गराउने विषयमा विवाद बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले पहुँचको भरमा पास वितरण गरेको भन्दै गुनासोहरु आउँदै गरेको समयमा पास लिएर लागूऔषध सेवन गर्न गएको समेत फेला परेको छ । 
बैशाख २ गते त्रियुगा नगरपालिका ३ भुल्के बस्ने साबिर मियाँलाई लागूऔषध सेवन गर्न गएको आरोपमा प्रहरीले पक्राउ गरेपछि यो रहस्य खुलेको हो । मियाँलाई प्रहरीले लागूऔषध सेवन गर्न गएको आरोपमा पक्राउ गरि बैशाख ३ गते विहान मात्रै छोडेको प्रहरी स्रोतले नागरिक बहस अनलाइनलाई जानकारी दिइएको छ । साबिर मियाँको नाममा रहेको पासमा स.६ प ८५६४ नम्बरको मोटर साइकलले चालक सहित २ जना लेखिएको छ । त्यस पासमा गाईघाटदेखि सप्तरीसम्म विरामी पुर्याउने भनेर लेखेपनि उनीहरु लागूऔषध सेवन गर्न गएको प्रहरी स्रोतले जनाएको छ ।
पासमा गाईघाटदेखि सप्तरीसम्ममा दुई जना जाने र आउने बेलामा एक जना मात्रै आउने लेखेपनि जानेबेला दुई जना नै गएको र फर्किने समयमा एक जना मात्रै फर्किएको प्रहरी चौकी लालपत्ताका इन्चार्ज डम्बर अधिकारीले जनाएको छ । ‘जिल्ला प्रशासनले पास दिएपछि छोड्नै पर्यो,’ इन्चार्ज अधिकारीले भने, ‘लालपत्तामा सोधपुछको क्रममा कल्याणपुरसम्म विरामी पुर्याउन जाने भनेर पास देखायो ।’
पासमा विरामी बनेर गएको व्यक्ति त्रियुगा नगरपालिका ३ भुल्केका मो.कलाम हुन् । उनी अटो चालक हुन् । एक स्थानीयका अनुसार उनी पनि लागूऔषधको कुलतमा फसेको व्यक्ति हुन् । उनी कुनै इन्जिनियर होइनन् । स्थानीयका अनुसार यस क्षेत्रमा करिव १०–१२ जना बाहिरबाट लागूऔष लिएर आउने र यिनीहरुले खाने गर्ने गरेको बताए ।
यस्तै पास क्र.सं. २३१ मा ना.१ क ८३८३ नम्बर ट्रकको चालक सूर्य कुमार राईको नाममा रहेको पासको नविकरणमा लकडाउन भरी पानी मात्रै ढुवानी गरेपनि कोक, स्प्राइट, फेन्टा ढुवानी गरेको पाईएको छ । उक्त ट्रकले गाईघाट बजार मात्रै नभएर देउरी, जलजले, चुहाडे लगायतका ठाउँमा कोक, स्प्राइट, फेन्टा लगायतका सामग्री ढुवानी गरेको पाइएको छ ।
यस्तै चौदण्डीगढी नगरपालिका १० का कृषक ब्रहमदेव चौधरीले आफ्नै कृष फर्ममा उब्जिएको तरकारी हडियाबाट गाईघाट ल्याउनु पर्यो भनेर पास माग्दा जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध नगराएको गुनासो गरे । उनका अनुसार त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले सिफारिस गरेकोलाई मात्रै पास उपलब्ध गराउने भनेर प्रशासनले जवाफ दिइएको बताए ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीसँग सम्पर्क गर्दा उहाँले फोन उठाउनु भएन् । जिल्ला प्रशासन कार्यालय उदयपुरका कम्प्युटर अपरेटर जुनेश पोखरेललाई पनि सम्पर्क गर्दा उनले पासको दुरुपोग भएको गुनासाहरु आउने गरेको स्वीकार गरे । उनका अनुसार इन्जिनियरको आफ्न्त विरामी भएकोले इन्जिनियर विरामी भेट्न जाने भनेर पास लिएको हो । तर, मोटर साइकल चालकको नाम भएपनि पछाडी सवारको नाम ठेगाना केही नभएको बताए । कम्प्युटर अपरेटर पोखरले भने ‘यस पासको विषयमा प्रमुख जिल्ला अधिकारी ज्यू समक्ष कुरा राख्ने छु ।’
सम्बन्धित सामाचार









