उदयपुर । त्रियुगा नगरपालिका ३ स्थित भुल्के मस्जिदमा १२ भारतीय र एक नेपालीमा देखिएको कोरोना संक्रमणले नगरबासी त्रसिद छन् । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले विभिन्न मन्त्रालयलाई पत्राचार गरी नगरका २५ हजार मानिसको थ्रोट स्वाब परीक्षण गर्न सहयोग गरिदिन मुख्यमन्त्री देखि स्वास्थ्यमन्त्रीसम्मलाई पत्राचार गरेको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको साथै प्रदेश १ को मुख्यमन्त्री कार्यालय र सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरेको छ । पत्रमा त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केको मस्जिदमा १२ भारतीय र एक नेपालीमा देखेको कोरोना संक्रमणले नगरबासीमा असहजताको वातावरण सृजना भएको भन्दै नगरका २५ हजार व्यक्तिमा कोरोना परीक्षण गरि सहयोग गरिदिन माग गरेको मेयर बलदेव चौधरीले बताए । उनका अनुसार कोरोना संक्रमित बस्ती भुल्के, मोतिगडा, मोथियाही, गाईघाट, देउरी, जलजले लगायतको ठाउँका शंकास्पद व्यक्तिमा कोरोना परीक्षण गर्न माग गरेको बताए ।
पत्रमा गत फागुन ३–५ गतेसम्म सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा भएको नेपाल इज्तिमा अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलनमा उदयपुरबाट समेत सहभागी भएकोले त्यसलाई मध्य नजर गर्दै २५ हजार मानिसको पिसिआर परीक्षण गरिदिन मुख्यमन्त्रीको कार्यालयदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ ।
पत्रमा त्रियुगा नगरपालिका वडा नं. १, २, १२ र ६ मा लकडाउन अघि जमातीहरु धर्म प्रचार प्रसार गर्नको लागि गएकोले सो आसपासका अन्य वस्तीमा समेत गरी करिव २५ हजार मानिसको स्वाब परीक्षणको लागि एक विशेष क्याम्प खडा गर्न र अन्य आवश्यक सहयोग गर्न अनुरोध गरेको छ ।










