उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा १३ जना कोरोना संक्रमित फेला परेपछि सो क्षेत्रका स्थानीय र नेपाली सेना गरी आइतबार एक सय ५२ जनाको थ्रोट स्वाब नमूना संकलन गरेर परीक्षणको लागि आइतबार राति एम्बुलेन्समार्फत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाईएको छ । त्रियुगा नगरपालिकाको पहलमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको सहयोग र नेपाली सेना छाउनी अस्पतालको प्राविधिक सहयोगमा आइतबार १८ जना सैनिक अधिकारी सहित १ सय ५२ जनाको संकलित स्वाब टेकु पठाईएको हो । आईतबार १०८ महिला र ४४ पुरुष गरी एक सय ५२ जनाको स्वाब संकलन गरेको हो ।
२ सय ५० वटा स्वाब संकलन गर्ने किटसहित नेपाली सेनाको छाउनी अस्पतालका मेजर डा. प्राची रायमाझीको नेतृत्वमा आएको ४ जनाको स्वास्थ्यकर्मीको टोलीले समय अभावका कारण सबैको नमुना संकलन गर्न नभ्याएपछि पुनः सोमबार संकलन गर्ने भएको हो । यस अघि संक्रमितसँग हिमचिम रहेका ६९ जनाको आइतबार सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ बाट आएको टोलीले संकलन गरेर कोशी अस्पतालको ल्याबमा पठाएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत आईतबार दिउँसो भुल्के आईपुगेको टोलीले श्री नम्बर १८ नम्बर वाहिनीको फिल्डमा नमुना संकलन गरेको बाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।
पहिलो चरणमा मुस्लिम टोलका व्यक्तिहरुको स्वाब संकलन गरी सोही टोल वरिपरीका घरका मानिसहरुको दोस्रो चरणमा र भुल्के गाउँका प्रत्येक घरबाट एकजनाको तेस्रो चरणमा स्वाबको नमूना संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए ।यस्तै त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई २५ हजार मानिसको थ्रोट स्वाब परीक्षण गर्नको लागि पत्रचार गरेको थियो । त्रियुगा नगरपालिका वडा नं. १, २, १२ र ६ मा लकडाउन अघि जमातीहरु धर्म प्रचार प्रसार गर्नको लागि गएकोले सो आसपासका अन्य वस्तीमा समेत करिव २५ हजार मानिसको स्वाब परीक्षणको लागि एक विशेष क्याम्प खडा गर्न र अन्य आवश्यक सहयोग गर्न अनुरोध गरेको मेयर बलदेव चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया