उदयपुर ।

त्रियुगा नगरपालिका ३ भुल्के स्थित मस्जिदमा ११ भारतीय जमाती र एक नेपालीमा कोरोना संक्रमण भेटिएसँगै जनजिवनमा कोरोना त्रासको जन गुनासोहरु बढेपछि नगरपालिकाका मेयर बलदेव चौधरीले सर्वसाधारणलाई हतास नहुन अपिल जारी गरेको छ । अपिलमा कोरोना विरुद्धको लडाईमा नगरपालिकाले एक करोडको राहत कोष खडा गरी सम्भव भएसम्मको सेवा प्रवाह गरेको जनाएको छ । अपिलमा मस्जिदमा आएका ११ भारतीय जमाती र एक जना नेपालीमा कोरोनाको संक्रमण देखिएपछि उनीहरुलाई उपचारको निम्ति विराटनगर पठाईएको छ भने अन्य चार जनालाई मोरङको टाँडी स्थित प्रदेश स्तरीय क्वारेन्टाइनमा राखिएको जनाएको छ ।

संक्रमित भेटिएको स्थललाई रोग फैलिन नदिन तथा न्यूनीकरणको लागि स्थानीय प्रशासनले सिल गरी स्यानीटाइजेशन अर्थात औषधि छर्कने काम शुरु गरिएकोले सर्वसाधारणलाई हत्तास नहुन अपिल गरेको छ । अपिलमा संक्रमितहरुको ट्रावेल हिस्ट्री र कन्ट्रयाक्ट ट्रेसिङका कामहरु शुरु गर्नुको साथै संक्रमित क्षेत्र र आसपासका व्यक्तिहरुमा कोरोना परीक्षणका लागि पिसिआर अर्थात थ्रोट स्वाब परीक्षण गर्ने काम स्थानीय स्वास्थ्यकर्मीहरु तथा प्रदेश स्तरीय विशेषज्ञ टोलीबाट शुरु गरिएको जनाएको छ । यस घडीमा हतास नहुन नगरबासीमा अनुरोध गरेको छ ।
‘कोरोना शंकास्पद परिवार, छरछिमेक तथा टोल बस्तीमा भए तत्काल मलाई, सुरक्षाकर्मी वा स्वास्थ्यकर्मीलाई सूचना सम्प्रेषण गरी आफ्नो र अरुको जीवन बचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुनेछ भन्ने मैले आशा लिएको छु ।’ अपिलमा भनेका छन् ।, ‘सम्पूर्ण नगरबासीको जीवन रक्षाको लागि त्रियुगा नगरपालिका दृढ संकल्पको साथ अहोरात्र खटिएको व्यहोरा अवगत गराउन चाहान्छु ।’
कोरोना भाइरस विरुद्धको लडाइमा महत्वपूर्ण मानिएको बन्दाबन्दी अर्थात लकडाउनलाई पूर्णरुपमा पालना गरी रोग फैलिनबाट रोक्ने यो नै अहिलेसम्मको प्रभावकारी कदम भएकोले सवै नगरबासीले पालना गरिदिन अनुरोध गरेकोछ ।
अपिलमा कोरोना विरुद्धको लडाईको अग्रिम मोर्चामा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, टोल विकास संस्था लगायत विभिन्न व्यक्ति तथा संस्थाहरुको उच्च मूल्यांकन गर्दै लकडाउनको पालना गर्न कम्मर कस्न सबै नगरबासीमा अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया