उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा रहेका १२ भारतीय कोरोना संक्रमितहरुलाई उपचारको लागि विराटनगर स्थित कोरोना अस्पतालको आइसोलेशनमा लगिएको छ । कोरोना पोजेटिभ देखिएका १२ भारतीय सहित १६ जनालाई उपचारको लागि कोरोना अस्पताल विराटनगर लगिएको हो । कोरोना संक्रमित मध्ये ११ भारतीय र एक नेपाली छन् ।
उनीहरुलाई चार एम्बुलेन्समा राखेर विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक वीर बहादुर बुढामगरले जानकारी दिए ।
ट्राभल हिस्ट्री अनुसार उनीहरु विराटनगरको जोगबनी नाकाबाट नेपाल प्रवेश गरेको पाइएको छ । उनीहरु यसअघि वीरगन्जमा भेटिएका संक्रमितसँगै सुनसरी र सप्तरीका कार्यक्रममा सहभागी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
‘१२ जनाको सो समुहसँग मोरङका चार जना थपिएर उनीहरुसँगै मोरङ, सुनसरी र सप्तरीको बोदेबरसाइन, राजविराज, फत्तेपुर लगायतका ठाउँमा पुगेर शिक्षा दिँदै उदयपुर प्रवेश गरेको पाइएको छ’, एसपी बुढामगरले भने, ‘उनीहरुले फागुन २५ गते उदयपुर प्रवेश गरेको बताएका छन् ।’
गत फागुन ३–५ गतेसम्म सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा भएको नेपाल इज्तिमा सहभागी भएका राजविराज हुँदै उदयपुर आईपुगेका थिए । उनीहरु उदयपुरका दुई वटा मस्जिदमा पुगेका थिए । उनीहरु चौदण्डीगढी नगरपालिका ५ शिवाईको मस्जिदमा पुगेर शिक्षा दिँदै लकडाउनको समयमा त्रियुगा नगरपालिका ३ भुल्केका मस्जिदमा आईपुगेका थिए ।
उनीहरुको कन्ट्याक ट्रेसिङ सुरु गरिएको प्रहरीले जनाएको छ ।
त्रियुगा नगरपालिका–३ भुल्केको मस्जिदमा कोरोना संक्रमित भेटिएपछि त्यहाँ प्रहरीले सिल गरेको छ। ‘हामीले मस्जिदलाई सिल गरिसकेका छौँ’, मगरले भने, ‘यहाँबाट थप कोरोना फैलिन नदिन आवश्यक अन्य स्वास्थ्य सुरक्षाका उपाय पनि अपनाउँदैछौँ।’









