उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । गत फागुन ३–५ गतेसम्म सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा भएको नेपाल इज्तिमा सहभागी हुँदै उदयपुर आएकोका १२ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ ।
उनीहरुको र्यापिड डाईनोस्टिक टेस्ट (आरडिटी) किटमा नेगेटिभ आएपनि पिसिआर (थ्रोट स्वाब नमूना संकलन) गरेर विराटनगर पठाईएको थियो । कोशी अस्पतालमा विहिबार साँझ गरिएको परीक्षणमा १२ जनामा पोजिटिभ देखिएपनि पुष्टिका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य कार्यालयमा पठाइएको प्रदेश १ स्रोतले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पनि विराटनगरमा पोजेटिभ देखिए पनि ती नमूना काठमाडौँमा परीक्षणका क्रममा रहेको जानकारी दिए। कोरोना पोजिटिभ हुनेहरुमा कति जना भारतीय कति जना नेपाली सो आधिकारिक पुष्टी भई सकेको छैन् । यद्यपि, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी छ ।

शुक्रबार विहानै देखि मस्जिदमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तैनाथ रहेका थिए । शंकास्पदहरुको पुष्टी भएमा विरानगर वा काठमाडौ दुईमा एक ठाउँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले मस्जिदमै राखिएको छ । अहिलेसम्म आधिकारिक पुष्टी नभई सकेकोले केही भन्न नमिल्ने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाद सुवेदीले जानकारी दिए ।
उनीहरुले भने आफूहरू सप्तरीमा भएको धार्मिक सभामा सहभागी हुन आएको र त्यसपछि विभिन्न जिल्ला घुमेर उदयपुर आएको दाबी गरेका छन् । उनीहरु जोगवनी हुँदै नेपाल प्रवेश गरेका थिए । उनीहरु मोरङ र सुनसरीका विभिन्न ठाउँ बसेर फागुन ३–५ गते सप्तरीको नेपाल इज्तिमा सहभागी हुँदै फागुन २५ गते सुन्दरपुर र चैत १ गते भुल्के आएका हुन् ।
उनीहरु नजिकैको मस्जिद तथा मदरसामा पनि सहभागीता जनाएको स्थानीयहरुको भनाई रहेको छ । स्थानीयहरुका अनुसार उनीहरूले मस्जिदमा सामाजिक दूरी कायम गरेको बताए पनि स्थानीयले घुलमिल गरिरहेको दाबी गरेका छन् ।
स्थानीयले नै मस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै त्रियुगा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र अनुसन्धान प्रहरीलाई समेत चैत्र १४ गते नै सूचना दिएका थिए । तर, कसैले हाम्रो गुनासो नसुनेको एक स्थानीयले बताए ।
स्थानीयहरुले त्यस मस्जिदमा अनुगमन गर्न पटक पटक जानकारी गराउँदा पनि प्रशासन मौन रहेकोले यसभन्दा अरुलाई पनि कोरोना भएमा प्रशासनले जिम्मेबारी लिनु पर्ने बताए । एक स्थानीले भने, ‘दुई हप्ता अघि नै त्यस मस्जिदमा अनुगमन गर्न आग्रह गरेपनि जिल्ला प्रशासन कार्यालयलाई भन भन्छ, जिल्ला प्रशासनले प्रहरीलाई भन्छ प्रहरीले स्थानीय निकायलाई भन्छ र स्थानीय नियकाले वडाध्यक्षलाई भन भन्दै चासो दिइएको थिएन ।’
भुल्के लगायतका गाउँ नै अहिले सशंकित भएका छन् । उनीहरु त्रियुगा नगरपालिका २ स्थित मोथियाहीको मस्जिदसम्म पुगेको एक स्थानीयले जनाएको छ ।

तपाईको प्रतिक्रिया