उदयपुर । गाईघाटमा लाग्दै आएको तरकारी बजार विहिबारदेखि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले देशभर ‘लकडाउन’ घोषणा गरेपनि केही खुकुलो तरकारी बजार जिल्ला प्रशासन कार्यालय उदयपुर, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य तथा गुणस्तर कार्यालय, त्रियुगा नगरपालिका, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको प्रतिनिधिको रोहबारमा बसेको सगरमाथा कृषि उपज बजार संचालक समितिको बैठकले बिहिबारबाट अर्को सूचना जारी नहुँन्जेल पूर्णरुपमा तरकारी बजार बन्द गर्ने निर्णय गरेको छ ।
तरकारी किन्ने बेला भिड धेरै भएपछि बन्द गर्ने निर्णय गरिएको संचालक समितिका अध्यक्ष दुर्गानन्द चौधरीले जानकारी दिए । तरकारी किनमेलका लागि अत्यधिक भिडभाड भई जोखिम बढाएको भन्दै प्रशासनले जिल्लाभरका सम्पूर्ण तरकारी बजारहरु बन्द गर्ने निर्णय गरेसँगै गाईघाटको तरकारी बजार पनि बन्द गर्ने निर्णय गरिएको संचालक समितिका अध्यक्ष चौधरीले बताए ।
गाईघाट बजारमा रातको समयमा जिल्ला बाहिरको तरकारी भित्रिने गरेको जसले कोरोनाको जोखिम बढ्ने भन्दै गुनासोहरु आएपछि तरकारी बजार बन्द गर्नु परेको अध्यक्ष चौधरीले बताए । स्थानीय उत्पादन भन्दा बाहिरको तरकारीसँगै कोरोनाको संक्रमण भित्रिने आशंका गरिएको हुनाले तरकारी बजार नै बन्द गर्ने निर्णय गरिएको अध्यक्ष चौधरीले बताए ।
यस अघि स्थानीय प्रशासनले अत्यावश्यक खाद्यपदार्थ किनमेलका लागि गाईघाटमा तरकारी बजारमा केही खुकुलो बनाएको थियो ।
उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले हाट बजार तथा तरकारी बजारलाई बन्द गर्न यसअघि नै निर्णय गरेको बताए ।
यस अघि बजारमा इनरुवा, भान्टाबारी, कुनौली बजार, लौकही बजार, लहान, गोलबजार, मिर्चैया लगायतको ठाउँबाट तरकारी आउने गरेको थियो ।









