धनगढी — क्वारेन्टाइनमा बसेर घर फर्किएकी कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीकी एक महिलामा कोरोनाको संक्रमण देखिएको छ । र्यापिड डाईनोस्टिक टेस्ट (आरडिटी) किटमा नेगेटिभ देखिएकी ती महिलाको पीसीआरबाट गरिएको परीक्षणमा पोजिटिभ देखिएछ ।
स्वास्थ्य मन्त्रालयस्रोतले पनि कैलालीकी एक महिलामा संक्रमण देखिएको बताएको छ । प्रहरीका अनुसार वीरगन्जमा चिया पसल चलाउने ती महिला लकडाउनअघि कैलाली आइपुगेकी थिइन् ।
कोरोना रिपोर्ट पोजिटिभ देखिएपछि उनलाई सेती अस्पतालको एम्बुलेन्समा धनगढी पठाइएको लम्कीचुहाका मेयर महादेव बजगाईंले बताए । उनीसँगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच पुगेको छ । धनगढीका तीन र कञ्चनपुरका एक संक्रमितको पनि यही अस्पतालमा उपचार भइरहेको छ ।
उनीसहित १७ जनाको टोलीलाई र्यापिड डाइग्नोस्टिक टेस्टमा नेगेटिभ देखिएपछि लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट आइतबार साँझ घर पठाइएको थियो । तर, सोमबार बिहान उनको रिपोर्ट पोजिटिभ देखिएको खबर आएको मेयर बजगाईंले बताए । ‘पोजिटिभको खबर आएपछि बाँकीलाई फेरि क्वारेन्टाइनमा ल्याइएको छ । कसैमा पनि लक्षण देखिएको छैन । अरूको पनि पीसीआर परीक्षणको नतिजा पर्खिइरहेका छौं,’ उनले भने।
यसअघि लम्कीचुहाकै २१ वर्षीय युवकमा कोरोना संक्रमण पाइएको थियो ।
आडिटी प्रविधि विश्वमा भरपर्दो नभएको बताईरहेको अवस्थामा नेपालमा यस प्रविधिमार्फत प्रारम्भिक कोरोना परीक्षण गरिरहेको छ ।









