सुखिलाल चौधरी, उदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–१९) का आशंका गरिएका उदयपुरमा थप ३० जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । नेपाली सेनाको १८ नं. बाहिनी अन्तर्गत शार्दुल गण बेलस्रोत क्वारेन्टाइनमा रहेका २६ जना र रौतामाई गाउँपालिका डाँडा गाउँको क्वारेन्टाइनमा रहेका ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म उदयपुरका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
बेलस्रोत क्वारेन्टाइनमा रहेका चार महिलासहित २६ जनाको स्वाब संकलन गत बुधबार विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएको मध्ये सवैको कोरोना रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार रौतामाई गाउँपालिका डाँडा गाउँका चार जना पनि रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको र्यापिड डाईनोस्टिक टेस्ट (आरडिटी) किट मार्फत कोरोना परीक्षण गरेको थियो ।
यस्तै शुक्रबार रौतामाई गाउँपालिका मुर्कुचीमा ४ जना, चौदण्डीगढी नगरपालिका १० हडियामा ६ जना र त्रियुगा नगरपालिका ३ मोतिगडा क्याम्पसमा ८ जना गरी १८ जनाको आरडिटी मार्फत रगत परीक्षण गरिएको थियो । उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ । 
यस अघि त्रियुगा नगरपालिकाको ८ जना र लिम्चुङबुङ गाउँपालिकाको ४ जनाको स्वाब परीक्षणमार्फत कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । यस्तै बेलका नगरपालिकाको एक जनामा कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा पठाएर स्वाब परीक्षण गरेको थियो ।
बेलस्रोतको क्वारेन्टाइनमा रहेकाहरुलाई आइतबार सम्बन्धित वडाको प्रतिनिधिमार्फत निगरानी राख्ने व्यवस्था मिलाई जिम्मा लगाउने कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
यस्तै आरडिटी किटमार्फत परीक्षण गरिएपनि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने र त्यपछि घर पठाएर होम क्वारेन्टाइनमा अझै सात दिन विताउनु पर्ने जिल्ला जनस्वास्थ्य अधिकृत सुवेदीले बताए । उनका अनुसार आइतबार चौदण्डीगढी नगरपालिकाको अस्पतालमा रहेको दुई जनाको दुवै प्रविधिमार्फत कोरोना चेकजाँच गरिने भएको छ । आइतबारै बेलका नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुको पनि कोरोना परीक्षण गरिने अधिकृत सुवेदीले जानकारी दिए । आडिटी प्रविधि विश्वमा भरपर्दो नभएको बताईरहेको अवस्थामा नेपालमा यस प्रविधिमार्फत प्रारम्भिक कोरोना परीक्षण गरिरहेको छ ।









