उदयपुर । उदयपुरमा लकडाउन अवज्ञा गर्ने ३ जनालाई प्रहरीले मुद्धा दर्ता गरेको छ । आफु पनि संक्रमणको खतरामा र अरुलाई पनि खतरामा पार्ने गरी हिडेको पाईएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत उनीहरुलाई मुद्दा चलाइएको हो ।
एउटा मोटरसाईकलमा चढेका तीनै जनालाई लकडाउनको डिउटीमा खटिएका प्रहरीले नियन्त्रण लिएको थियो । उनीहरुले विरामीको नाटक गर्दै प्रहरीलाई छल्न खोजेपनि प्रहरीले चेकजाँच गरेपछि गल्ती पत्ता लागेको एसपी बीरबहादुर बुढामगरले जनाएको छ । बीचमा बस्नेले पेट दुखेको भन्दै नाटक गरेर अस्पताल जान लागेको भनेका थिए । प्रहरीले चेकगर्दा पेट नदुखेको र अस्पताल पनि नहिडेको पत्ता लागेको थियो ।
उनीहरुको साथमा ठूलो मात्रामा मोवाईलको रिचार्ज कार्ड फेला परेको प्रहरीले जनाएको छ । यसरी ट्राफिक नियमसमेत उलंघन गर्दै लकडाउनको अवज्ञा गरेको पाएपछि मुद्दा चलाइएको प्रहरीले जनाएको छ । हाल म्याद थप भई उनीहरुमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको एसपी मगरले जानकारी दिए ।









