उदयपुर । उदयपुरमा लकडाउन उल्लंघन गर्ने ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिई दिनभर प्रहरी कार्यालयको क्वारेन्टाइनमा राखेका थिए । कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनको उल्लंघन गर्दै मानिसहरु अनावश्यक बाहिर हिंडडुल गरेपछि प्रहरीले कडाई गर्ने क्रममा ३२ जनालाई नियन्त्रणमा प्रहरी क्वारेन्टाइनमा राखेको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले लकडाउन उल्लंघन गर्नेलाई शनिबारबाट कडाईका साथ यो अभियान सुरु गरिएको उदयपुरका प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिए ।
उनीहरुलाई सम्झाईबुझाई गरेर साँझ छोडको समेत एसपी बुढामगरले जानकारी दिए ।
अन्य दिनको तुलनामा शनिबार सदरमुकाम गाईघाटमा भने निकै कडाई गर्नुका साथै प्रहरीले बिहानैदेखि घर बाहिर ननिस्कन भन्दै माइकिङ समेत गरेको थियो ।
लकडाउन उलंघन गरे सिधै मुद्दा चलाउने तयारी
लकडाउनको अर्थ घरमै सुरक्षित भएर बस्ने भन्ने मात्र नभई विश्वलाई फैलिरहेको कारोना भाइरसको संक्रमण फैलन नदिनु भएकाले यसप्रति लापरवाही गर्नेलाई अव कारवाही हुने एसपी मगरले बताए । लकडाउन अवज्ञा गर्नेलाई अव रोग संक्रमण सम्बन्धी ऐन अन्तर्गत मुद्दा चलाइने बताए ।
कलडाउन अवज्ञा गरेर कारवाहीको अवस्थामा नपर्न सर्बसाधारणलाई आग्रह गर्दै एसपी मगरले आज १८ औं दिनसम्मको अवस्थालाई हेर्दा अझै पनि कतिपय सर्बसाधारण कोरोना भाइरसप्रति गम्भिरताका साथ सतर्क र सचेत नदेखिएको बताए ।
“अझै पनि कतिपय मानिस कोरोना फैलिएको छैन, केही हुन्न भन्ने मानसिकताका छन् ।” एसपी मगरले भन्नुभयो “त्यस्ताले नै जोखिम बढाउने भएकाले अव कारवाहीको अवस्थामा पुगेका हौ ।”
अत्यावश्यक काम भएकाले भने त्यसबारे प्रहरीलाई जानकारी गराएर आफ्नो काम गर्न सक्ने जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।









