काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द मोदीले भारतमा लकडाउन लम्बिने संकेत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीहरुसंग छलफल गर्नु भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स गर्दै यस्तो संकेत गरेका हुन् ।भिडियो कन्फ्रेन्समा मोदीलाई मुख्यमन्त्रीहरुले लकडाउन कम्तिमा ३० अप्रिलसम्म लम्ब्याउन सुझाब दिएका थिए ।
पछिल्लो समयमा भारतमा कोरोना संक्रमितहरुको संख्या तीब्र रुपमा बढिरहेको समयमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनजीले लकडाउन दुई साता लम्ब्याउन सुझाव दिएकी छिन् ।
यसैबीच, सबै भन्दा धेरै कोरोना संक्रमण फैलिएको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री मोदीलाई ३० अप्रिलसम्म लकडाउन जारी राख्न सुझाव दिनुभएको थियो । २५ मार्चदेखि भारतमा २१ दिने लकडाउन जारी छ ।
तरपनि भारतमा कोरोना संक्रमितहरुको संख्या बढिरहेका छन् । वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय ४९ पुगेको छ ।
शनिबार मात्र भारतमा ४० जनाले ज्यान गुमाएका छन् । त्यस्तै, संक्रमितको संख्या ७ हजार ८ सय ७६ पुगेको छ । यसैबीच ७ सय ७४ जना निको भइसकेका छन् ।