उदयपुर । उदयपुरका स्थानीय तहको क्वारेन्टाइनमा रहेकाहरुलाई घर पठाउने वा राख्ने विषयमा स्थानीय सरकार अहिले अन्यौलमा रहेका छन् । उदयपुरमा आठ स्थानीय तहमध्ये छ वटा स्थानीय तहमा ७५ जना क्वारेन्टाइनमा रहेका छन् ।कटारी नगरपालिकामा ३ महिला सहित २६ जना, रौतामाई गाउँपालिकामा ११ जना, त्रियुगा नगरपालिकामा ८ जना, चौदण्डीगढी नगरपालिकामा ६ जना, बेलका नगरपालिकामा १४ जना, लिम्चुङबुङ गाउँपालिकामा ९ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै लिम्चुङबुङ गापामा ४ जना कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनीहरु अहिले होम क्वारेन्टाइनमा बसिरहेका छन् ।
स्थानीय स्तरको क्वारेन्टाइनमा रहेका भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्तिहरुमा अहिलेसम्म कोरोना संक्रमण भएको त्यस्तो कुनै लक्षण देखा परेको छैन । क्वारेन्टाइनमा अनिवार्य दुई हप्ता बस्नु पर्ने सरकारको निर्देशन क्वारेन्टाइनमा बस्नेहरु पालना गरेका छन् । तर, पनि उनीहरु क्वारेन्टाइनबाट उन्मुक्ति पाएका छैनन् ।
लिम्चुङबुङ गाउँपालिका बाराहा शिर्वानी माविमा रहेका १२ जना मध्ये कोरोना संक्रमित युवतीसँग आएका एक जना सहित चार जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई पालिकाको क्वारेन्टाइनबाट होम क्वारेन्टाइनमा बस्न लगाएको गाउपालिका अध्यक्ष मेजर कुमार राईले जानकारी दिए । अध्यक्ष राईले भने, ‘कैलालीमा क्वारेन्टाइनमा रहेर घर फर्किएकोलाई पनि कोरोना संक्रमण देखिपछि हामीले पनि कोरोना रिपोर्ट नेगेटिभ आएपनि अझै सात दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौं ।’
यस्तै व्यथा रौतामाई गाउँपालिकामा पनि छ, भारत लगायत तेस्रो मुलुकबाट फर्केका ११ जनामध्ये केहीको दुई हप्ता क्वारेन्टाइनमा पुग्न लागेका छन् । क्वारेन्टाइनमा रहेकाहरुको कोरोना संक्रमणको त्यस्तो कुनै लक्षण अहिलेसम्म देखा परेको छैन, उनीहरुको कोरोना परीक्षण भएको छैन । क्वारेन्टाइनमा रहेकाहरुको दुई हप्ता समयावधि पुगेपछि पुनः राख्ने वा घर पठाउने भन्ने विषयमा स्थानीय सरकार आफै अन्यौल रहेको रौतामाई गाउँपालिका प्रमुख गजेन्द्रबहादुर खड्काले बताउँछन् । अध्यक्ष खड्काले भने, ‘जिल्ला स्वास्थ्य कार्यालयलाई क्वारेन्टाइनमा रहेकाहरुको स्वाब परीक्षण गरिदिनु पर्यो भन्दा सुन्दैन । जिल्ला विपद समितिलाई जनाकारी गराउँदा क्वारेन्टाइनमा राख्नु भन्छ ।’ अध्यक्ष खड्काले थपे, ‘संक्रमित मुलकुहरुबाट आएका व्यक्तिहरुलाई अझै क्वारेन्टाइनमा पुनः राख्ने वा घर पठाउने हामी आफै अन्यौल छौं ।, घर पठाउँ, कोरोना परीक्षण विना कसरी पठाउँ । क्वारेन्टाइनमा पुनः राखौं कति दिनसम्म राखौं, आफुहरु अन्यौलमा छु।’
सरकारले चैत्र महिना भित्र भारत लगायत तेस्रो मुलुकबाट आएकाहरुको अनिवार्य कोरोना परीक्षण गर्ने भनेर निर्देशन दिएको छ । तर, त्रियुगा नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेको आठ जनाको अहिलेसम्म पनि स्वाब परीक्षण भएको छैन् । विदेशबाट आएकाहरुको स्वाब परीक्षण नहुँदा उनीहरु संक्रमित हो वा होइन भन्न सक्ने अवस्था नरहेको मेयर बलदेव चौधरीले बताए ।
यस्तै चौदण्डीगढी नगरपालिका हडियाको क्वारेन्टाइनमा २ महिला सहित ६ जना रहेका छन् । उनीहरुको पनि स्वाब परीक्षण भएको छैन् । चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईका अनुसार क्वारेन्टाइनमा बसेको समायवधि पुगेपछि विदेशबाट आएकालाई घर पठाउने वा पुनः क्वारेन्टाइनमा राख्ने विषयमा अझै अन्यौल रहेको बताए ।
यस्तै कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ पनि क्वारेन्टाइनमा रहेकालाई घर पठाउने वा पुनः क्वारेन्टाइनमा राख्ने विषयमा कुनै निर्देशन नआएको बताए ।
यस विषयमा जिल्ला जनस्वास्थ्य उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीसँग सम्पर्क गर्दा क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परीक्षणको तयारी गरेको बताए । सम्भवत शुक्रबार (आजै) नजिकको पालिकाहरु रौतामाई गापाको मुर्कुची, त्रियुगा नगरपालिका मोतिगडा र चौदण्डीगढी नगरपालिकाको हडियाको क्वारेन्टाइनमा रहेको व्यक्तिहरुको स्वाब परीक्षण गरिने सुवेदीले जानकारी दिए । ‘अन्य पालिकाको हकमा चैत्र ३० गते वा बैशाख ४ गते मध्ये कुन दिन स्वाब परीक्षण गर्ने त्यस विषयमा छलफल हुँदैछ ।’ सुवेदीले भने, ‘प्रदेशबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले स्वाब परीक्षण गर्ने छ ।’ स्वाब परीक्षण पछि मात्रै क्वारेन्टाइनमा राख्ने वा घर पठाउने त्यस विषयमा जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गर्ने उहाँले बताउनु भयो ।
यस्तै उदयपुरमा १३ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएको छ भने सेनाको क्याम्प बेलस्रोतमा रहेको २६ जनाको स्वाब परीक्षण गरेर विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

तपाईको प्रतिक्रिया