उदयपुर । उदयपुरमा विदेशबाट आएर २ हप्ता बिताएका थप ४ जनाको स्वाब परीक्षणका लागी आइतबार बिपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाईएको छ । दुई हप्ताअघि कतार, दुबइँ र भारतबाट उदयपुर आएका उनीहरुको स्वाब परीक्षण अनिवार्य भएकाले परीक्षणका लागी धरान पठाइएको हो ।
कोरोनाको आशंका गरिएका चारै जनाको जिल्ला अस्पताल गाईघाटमा आईसोलेशनमा राखेर नमुना (स्वाब) संकलन गरि धरान पठाएको हो । स्वाब परीक्षणको लागि पठाइएको सवै त्रियुगा नगरपालिकाका बासिन्दा हुन् ।
संयुक्त अरब इमिरेटस् (युएई) को दुबई र कतारबाट आएका एक–एक जना र भारतको कालीङपुङबाट आएका दुई जना गरी चार जनाको स्वाब परीक्षणको लागि धरान पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन प्रसाद सुवेदीले जानकारी दिए । कहिलेकाहीँ स्वस्थ मानिसमा समेत संक्रमणको जोखिम देखिनसक्ने भन्दै परीक्षण गर्न अनिवार्य रहेको प्रमुख सुवेदीले वताए ।
योसँगै उदयपुरमा कोरोनाको आशंका गरि परीक्षण गर्नेको संख्या १३ पुगेको छ भने पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ । यस अघि लिम्चुङबुङ गाउँपालिकाबाट पठाएको चार जनाको रिपोर्ट अझै आएको छैन भने त्रियुगा नगरपालिकाको चार जना र बेलका नगरपालिकाको एक जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
यो पनि पढ्नु होस्









