उदयपुर । जिल्लाका सामुदायिक वन उपभोक्ता समुहहरु कोरोना भाइरस (कोभिड १९) को संक्रमण जोखिम न्यूनीकरणमा सक्रिय हुँदा वनमा डढेलो सुरु भएको छ । साता यताको डढेलोले झण्डै २ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको डिभिजन वन कार्यालय गाईघाटले जनाएका छन । 
डिभिजन वन कार्यालय गाईघाटको कार्यक्षेत्र अन्तर्गतका आधा दर्जन बढी सामुदायिक वन क्षेत्रमा डढेलो लागेको हो । सामुदायिक वन उपभोक्ता समूहले आफनै समूहमा रहेको ‘गरिबी निवारण कोष’को रकम खर्चेर कोरोना भाईरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरि रहेकै अवस्थामा वन क्षेत्रमा डढेलो लागेपछि उपभोक्ता चिन्तित भएका छन् ।
अहिलेको सुख्खा मौसमसँगै वन क्षेत्र डढेलोको जोखिम बढी रहेकाले अवस्थामा लक डाउनका कारण कर्मचारीको उपस्थिती न्यून हुँदा स्थानीय चिन्तित बनेका हुन् । वन क्षेत्रमा हानी नोक्सानी बढ्दै गएकाले आगामी दिनहरु अझै जोखिमपूर्ण हुँने डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकृत सहायक वन अधिकृत जागेश्वर साहको भनाई रहेको छ । ‘२ सय हेक्टरको डढेलो त कर्मचारी उपभोक्ता मिलेर निभाइयो,’ उनले भने, ‘तर अहिलको परिस्थिती अनुकूल नहुँदा वन क्षेत्र डढेलो र चोरी तस्करीको जोखिम बढेकोमा चिन्ताजनक छ ।’











