उदयपुर । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) ले देश आक्रान्त भईरहेको अवस्थामा उदयपुरमा कालाबजारी मौलाएको छ । सरकारले दैनिक उपभोग्य बस्तुमा मूल्य भन्दा १० प्रतिशत कम गर्न व्यवसायीहरुलाई भनिरहेको अवस्थामा भने उदयपुरमा ग्यास तथा खाद्यन्न पदार्थमा प्रचलित मूल्य भन्दा बढी लिइरहेको पाइएको छ । 
लकडाउनको मौका छोपी उदयपुरको सदरमुकाम गाईघाटमा केही दिनदेखि भित्रएको ग्यास तथा खाद्यन्न पदार्थमा प्रचलित मूल्य भन्दा बढी लिइरहेको पाइएको छ । यस्तै जिल्लाको बेल्टार, कटारी, मुर्कुची, रामपुर, देउरी, जलजले, चुहडे, मोतिगडा, साउने, खाँबु लगायतका क्षेत्रमा ग्यास तथा खाद्यन्न पदार्थको मूल्यमा बृद्धि भएको उपभोक्ताहरुको गुनासो आउन थालेपनि प्रशासन यस विषयमा मौन रहेको छ ।
अहिले आधा सिलिण्डर ग्यासमा १२ रुपैयाँ ५० पैसा बढी लिईरहेको छ भने खाद्यन्न पदार्थमा प्रचलित मूल्य भन्दा १० प्रतिशत बढी लिइरहेको आमउपभोक्ताहरुको गुनासो सर्वत्र आएपनि सम्बन्धित निकाय कोरोनाको त्रासले अनुगन गर्न सकेका छैनन् ।
आधा सिलिण्डर ग्यासको ६ सय ८७ रुपैया ५० पैसा पर्नेमा ७ सय रुपैयाँमा बेचिरहेको छ भने चामलमा प्रति २५ केजी चामलमा ५० रुपैया, ५ लिटरको खाने तेलमा ५० रुपैयाँसम्म बढी लिइरहेको गुनासो छ । अहिले रिजाल, कामख्या र कोशी ग्यासमा सरकारले तोकेको मूल्यभन्दा १२ रुपैया ५० पैसा बढी लिइरहेको छ । नारायणी ग्यासका डिलरले ट्रयाक्टरमार्फत ग्यासको ६ सय ८७ रुपैया ५० पैसा र होम डेलीभरी चार्ज १२ रुपैया ५० पैसा सहित ७ सय लिइरहेको छ ।
रिजाल ग्यासका संचालक नन्दकिशोर साहले त्रियुगा उद्योग वाणिज्य संघले नै ७ सयमा विक्री गर्नु भनेको आरोप लगाए । यस्तै कामख्या ग्यास गाईघाटका संचालकले ७ सय रुपैयामा नै ग्यास विक्री गरिरहेको भेटिएको थियो ।
यस्तै मोतिगडामा पनि कामख्या र कन्काई ग्यासका डिलरले पनि ७ सय रुपैयामा नै ग्यास वितरण गरिरहेको थियो । उपभोक्ता संजिव दाहालका अनुसार नेपाली नागरिकता र मोबाइल नम्बर टिप्ने रहेछ र ग्यासबापत ७ सय लिएको बताए ।
यस्तै २५० रुपैयासम्म पर्ने सेनिट्राइजरको ५०० सय रुपैयासम्म लिने गरेको आम उपभोक्ताहरुको गुनासो रहेको छ भने २० रुपैया पर्ने सामान्य माक्सलाई ३५ रुपैया देखि ५० रुपैयासम्ममा बेचिरहेको पाइएको छ ।
स्थानीय उपभोक्ताहरुका अनुसार कालाबजारी गर्नेमा अनुगमनको जिम्मा पाएका सम्बन्धित निकाय तथा प्रशासन नै सहयात्रीको रुपमा रहेको गुनासोहरु बढ्न थालेका छन् । स्थानीय उपभोक्ताहरुका अनुसार अहिलेसम्मको बजार अनुगमन कर्मकाण्डी मात्र रहेको गुनासो गरेका छन् । कालाबजारी गर्नेहरु प्रायः सवैले उन्मूक्ती पाई रहेकोले यसले नै प्रष्ट हुन्छ कालाबजारी गर्नेहरुको अनुगमन निकाय तथा प्रशासन नै सहयात्री भएको आम उपभोक्ताहरुको गुनासो छ ।
त्रियुगा उद्योग वाणिज्य संघले नै ग्यासमा बढी लिन भनेको विषयमा संघका अध्यक्ष गजेन्द्र भगतले मैले कसैलाई यति या त्यति लिन नभनेकोले यो सारासर गतल भएको बताए । उनले ग्यासमा १२ रुपैया ५० पैसा बढी लिइरहेको बारेमा सम्पर्क गर्दा बुझेर सम्पर्क गर्ने बताए ।
यस्तै खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय उदयपुरका निमित्त प्रमुख रमेश दाहालका अनुसार खाद्य पदार्थमा कालाबजारी भएमा तत्काल सम्बन्धित निकायमा उजुरी गर्न अनुरोध गरेका छन् ।
यस्तै जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईका अनुसार ग्सासमा प्रचलित मूल्यभन्दा अन्य कारण देखाउँदै बढी शुल्क लिन नपाउने बताएका छन् । यस विषयमा अनुगमन गर्ने र कानून बमोजिम कारबाही गर्ने बताए ।













